एमाले नेता तथा साहित्यकार खत्रीको निधन

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका–९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

विसं १९९२ जेठ १० गते नखेल, शान्ति गाउँमा जन्मिएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय थिए । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उनले योगदान दिएका छन् । भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्‍याएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताए ।

जनजागरण निबन्ध संग्रह, रोगको घर, बारुलो र माहुरी, ९बालकथा संग्रह र किशोर निबन्ध संग्रह ए बाउ घर छोडी जाऊ गीति कविता संग्रह०, हामी अब गर्छौँ रिवर्तित पाइला ९नाटक०, खुलाल खत्रीको खोज ९अनुसन्धानात्मक पुस्तक लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उनका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आएका खत्रीलाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मान समेत गरेका थिए । उनका चार छोरा र तीन छोरी रहेका छन् ।

 
 
  
 

You may also like