कोरोनाबाट १२ घन्टाको अन्तरालमा रुपन्देही र गुल्मी गरी ११ जनाको मृत्यु

गुल्मी । कोरोना भाइरस संक्रमणबाट गुल्मी र रुपन्देहीमा पछिल्लो १२ घण्टाको अवधिमा ११ जनाको ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले सोमबार विहान जारी गरेको सूचनामा सोही अस्पतालमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै गुल्मीमा पनि आज ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीले दिएको विवरणअनुसार पछिल्लो १२ घण्टामा मृत्यु हुने २८ वर्षदेखि ८० वर्ष उमेर सम्मका पुरुष हुन् । फोकल पर्सन गोपालबहादुर कार्कीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका–५ का ६५ वर्षीय पुरुषको बुटवलको धागो कारखानाको आईसोलेशन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै इस्मा गाउँपालिका–४ का ४५ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सोही गाउँपालिका–६ अमरपुरका २८ वर्षीय युवकको चितवन मेडिकल कलेजमा ज्यान गएको छ । उता, छत्रकोट गाउँपालिका–६ का ३७ वर्षीय युवकको गुल्मीकै श्रृङ्गा प्राथमिक उपचार केन्द्रमा ज्यान गएको छ । चन्द्रकोट ४ का ४८ वर्षीय पुरुषको शान्तिपुरकै स्वास्थ्य चौकीमा रहेको आइसोलेशनमा मृत्यु भएको छ ।

त्यस्तै गुल्मीदरबार –७ का ८० वर्षीय बृद्धको जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको छ । योसहित गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । सोमबार १०४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १२९० पुगेको छ । त्यस्तै तम्घासको रेसुङ्गा अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । डा. जीवन ठनेलकाअनुसार वैशाख ३० गतेदेखि अस्पतालमा उपचार गराइरहेका रुरुक्षेत्र गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आइतबार दिउँसो २ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।

उता, लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको सूचनाअनुसार रुपन्देहीको सैनामैना–१ का ३८ वर्षीय पुरुषको बिहान ६:३० बजे मृत्यु भएको छ भने सिद्धार्थनगर नगरपालिका–१३ का ६५ की वर्षीय महिलाको पनि ज्यान गएको छ । त्यस्तै सैनामैना–१ की ७७ वर्षीय महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ भने बुटवल–१३ का ५६ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको छ ।

 
 
  
 

You may also like