नेपाल टेलिकमले ल्यायो एक महिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर योजना

काठमाडौं । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले अफर सार्वजनिक गरेको हो ।
टेलिकमले सार्वजनिक गरेका ‘लकडाउन स्टे कनेक्टेड’ अफर आजदेखि एक महिनाका लागि लागू हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ ।

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिने छ ।

यस्तै टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा समेत पाउने व्यवस्था गरेको छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ । डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँच सय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

 

 
 
  
 

You may also like