बहराइनको राजपरिवारका सदस्यले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं। बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छिन् ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो । यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका आरोहीहरु थिए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।

आरोहीहरु बिहान साँढे पाँच बजेदेखि पौने सात बजेसम्मको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जानकारी दिएको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो । बहराइनका राजकुमार खालिफा सहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो । सगरमाथा आरोहणका लागि यो समूह गएको मार्च १५ मा नेपाल आएको थियो ।

टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने नेतृत्व १९ वर्षका टासी लाक्पा शेर्पाले गरेको सेभेन समिटले जनाएको छ । शेर्पा कृत्रिम अक्सिजन बिनै सगरमाथाको शिखरमा पुगेका छन् । आज कम्तीमा ३० जना विदेशीसहित ६५ जनाभन्दा धेरै सगरमाथाको शिखरमा पुगेका र थप विवरण आउन बाँकी रहेको सेभेन समिट प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।

 
 
  
 

You may also like