पूजा–विवाहले बढायो कोरोना : टोलटोलमा संक्रमित खोज्दै स्वास्थ्यकर्मी

जाजरकोट। कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।

गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।

पूजा र विवाहले कोरोना बढायो
चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको संख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिए ।

सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ । रासस

 

 
 
  
 

You may also like