कोरोनाले भयावह भारत : एकै दिन ३ लाख ७९ हजार बढी संक्रमित, ३,६४७ को मृत्यु

नयाँदिल्ली । कोरोना भाइरस महामारीका कारण भारतको अवस्था झनझै भयावह बन्दै गएको छ । गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६४७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई स्वास्थ्य सामग्री अरु देशले सहयोग गरिरहेका छन् । एजेन्सी

 
 
  
 

You may also like