बुटवलमा प्राङ्गारिक खेती प्रवद्र्धन कार्यक्रम, पहिलो चरणमा ४१ वटा हरितगृह निर्माण

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ ।

बुटवलका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वालीका तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ । प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । प्राङ्गारिक तरकारीका लागि स्वस्थ वालि उत्पादन गरी दैनिक उपभोग गर्नेुका साथै व्यवसायिकरण गर्ने उद्धेश्यले गत आवदेखि नै यस्तो कार्यक्रमको शुभारम्भ गरिएको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवल वडा नं. ११, १२, १३, १४, १५ तथा १६ र १८ का गरि ४१ जना किसानका लागि हरितगृह निर्माण गरि प्राङ्गारिक तरकारी खेतीमा प्रोत्साहन गरिएको छ । उपमहानगरमा प्रस्ताव पेश गरेका इच्छुक किसानहरुलाई छनौट गरेर पहिलो चरणको कार्यक्रममा समावेश गरिएको थियो ।

पुस्तौंदेखि चल्दै आएको प्राङ्गारिक खेती प्रणाली नै नेपालका लागि उत्तम विकल्प रहेको विज्ञहरूले बताइरहेका बेलामा बुटवलका केही वडाहरुबाट यस्तो अभियानको सुरुआत गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

शर्मा वातावरणका क्षेत्रमा लामोसमयदेखि काम गर्दै आएका विषय विज्ञ पनि हुन् । वातावरण संरक्षणका क्षेत्रमा खास दख्खल राख्ने प्रशासकका रुपमा चिनिन्छन् । वातावरणीय क्षेत्रको ह्रास हुने काममा मानवीय क्रियालाप नै पहिलो कारक बन्दै आएकाले यस्लाई नियन्त्रण गर्नेखालका कार्यक्रम बुटवलमा सुरु गरिएको उनको भनाइ छ ।

जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्यय्न गरि त्यसैको पकेट क्षेत्र बनाउने र संगसंगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख सुवेदीले बताए । विषादीको बढ्दो र अव्यवस्थित प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेती प्रवद्र्धन गर्न पनि बुटवलले जोड दिंदै आएको उनको भनाइ छ ।

सिजनल उत्पादन गरी रहेको अवस्थामा अव बेमौषमि तरकारी उत्पादन गरी आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको बुटवल ११ का किसान आत्माराम सापकोटाले बताए । हरितगृह निर्माणका लागि बुटवल उपमहानगरपालिकासंग प्रदेश सरकारले पनि सहकार्य गरेको छ । यो कार्यक्रममा किसानहरुको पनि सामान्य लागत सहभागिता रहेको छ ।

४१ वटा हरित गृह अर्थात् ग्रीन हाउस निर्माणका लागि ५० लाख ११ अजार चार सय ३२ रुपैयाँ बजेट लगानी भएको छ । जस्मा प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सबै किसानहरुको गरेर १३ लाख ७७ जहार आठ सय ५८ रुपैयाँ लगानी भएको छ । यो दुई आवको बजेट कार्यक्रम हो ।

बुटवलका वडा नं. १५ र १६ मा मात्रै १६ वटा हरितगृह निर्माण भएका छन् । यस्तै ११ मा दुई, वडा नं. १२ मा तीन, वडा नं. १३ मा एक, वडा नं. १४ मा तीन र वडा नं १८ मा पाँच वटा हरितगृह निर्माण भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
के हो प्राङ्गारिक खेती ?

साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती भन्ने बुझिन्छ । प्राङ्गारिक कृषि भन्नाले कृषि, वातावरण तथा मानव स्वास्थ्यमाा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरुको प्रयोग नगरीकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले सञ्चालन गरिने कृषि उत्पादन प्रणाली बुझिन्छ ।

यस्तो हुन्छ ग्रीन हाउस

आधुनिक कृषिमा विश्वलाई उदाहरण प्रस्तुत गरेका जापान र इजरायलमा धेरैजसो हाइटेक ग्रीन हाउसमा तरकारी खेती हुने गरेको छ । निश्चित एरियामा प्लास्टिक, फाइबर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिरबाट ढाकिन्छ । ग्रीन हाउसभित्र आवश्यकताअनुसार तापक्रम प्रसार गर्न सकिन्छ ।

ग्रिन हाउस राख्ने ठाउँमा जमिन करिब ५ इन्च तलसम्म उप्काएर फालिन्छ र राम्रो उब्जाउ हुने क्षेत्रको माटो ल्याएर त्यहाँ पुरिन्छ । त्यसपछि मल र माटोको मिश्रण बनाएर मलिलो र धेरै उब्जाउ हुने माटो तयार गरिन्छ । यहाँँ अन्यत्रभन्दा कम्तीमा ३ गुणा बढी तरकारी फलाउन सक्ने वातावरण तयार हुने बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।

ग्रीन हाउसमा धेरेजसो टमाटर खेती हुँदै आएको पाइन्छ । बुटवलमा भने अरु खेती पनि सुरु भएको छ । बन्दा, काउली, गाजर र साग पनि लगाउन सकिने विज्ञहरु बताउँछन् । नेपालको माटोमा सामान्यतया १५ टन प्रतिहेक्टर टमाटर उत्पादन भइरहेको बताइन्छ । ग्रीन हाउसमा खेती गर्दा कम्तीमा तीन गुणा धेरै उत्पादन गर्न सकिने विज्ञहरुको दाबी छ ।

 
 
  
 

You may also like