कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखियो : प्रचण्ड हुन अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापरेको बताएका छन् ।

आज (बिहीबार) लेनिन जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न एकजुट हुनुपर्ने बताएका छन् ।

प्रचण्डको सन्देशमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तर संघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’

‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ उनको भनाइ छ ।

तत्कालीन सोभियत संघलाई एकताबद्ध गर्न महान् लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने प्रचण्डको भनाइ छ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपील पनि गरेका छन् ।

 
 
  
 

You may also like