संसदलाई घेराबन्दी गर्न खोजियो : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् । अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आएका छन् । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उनले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोजेका थिए ।

यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको उनको भनाइ छ । यो टक्कर दृष्टिकोणमा र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएको उनले बताए । सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको बताए ।

‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु,’ आइतबार आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रममा उनले भने ‘मैले देश र जनताका विपक्षमा केहि गरेको छैन ।’ उनले अहिले पनि संघीय संसदमाथि घेराबन्दी भइरहेको बताए । कसले घेराबन्दी गरेको हो भन्ने भने उनले खुलाएनन् ।

प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’

 
 
  
 

You may also like