प्रधानमन्त्री र विप्लवबीच भेट, बन्दी नछुटेको भन्दै दोस्रोपल्ट असन्तुष्टि

काठमाडौ । खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा महासचिव चन्दले सरकारसँग भएको तीन बुँदे समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो दोस्रोपल्ट प्रधानमन्त्रीसँग राखेका छन् ।

भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया शुरु हुने जवाफ विप्लवलाई दिएको समाचार स्रोतले जानकारी दिएको छ । विप्लवले यसअघि चैत ९ गते प्रधानमन्त्रीलाई भेटेर कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै गुनासो गरेका थिए ।

प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।

विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

 
 
  
 

You may also like