मेरो मन्त्रालयमा आइस्योस्–गइस्योस् चल्दैन : पर्यटनमन्त्री भट्टराई

१५ साउन, काठमाडौँ । नवनियुक्त नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले आफूले सम्हालेको मन्त्रालयमा अब ‘आइस्योस् र गइस्योस्’ जस्ता भाषा प्रयोग नगर्न आग्रह गरेका छन् ।

कामभन्दा चाकडी बढी गर्ने प्रवृत्तिका कारण सरकारी निकाय र मन्त्रालयले काम गर्न नसकेको भन्दै उनले कुराभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

राष्ट्रपतिबाट शपथग्रहण गरेलगत्तै मन्त्रालयमा पदभार सम्हाल्दै उनले भने, ‘मन्त्रालयमा आइस्योस् र गइस्योस् संस्कार हुँदैन, अब यस्ता संस्कारको अन्त्य गर्छु ।’

सचिवदेखि कार्यालय सहयोगीसम्मलाई समान व्यवहार हुने बताउँदै मन्त्री भट्टराईले कर्मचारी र दलका नेता कार्यकर्तालाई स्वागत र बधाईका नाममा विज्ञापनमा खर्च नगर्न समेत अनुरोध गरे ।

मन्त्री भएपछि बधाई दिन विज्ञापन गर्ने परम्परा रहेको भन्दै आफ्नो हकमा यस्तो कार्य नगरिदिनसमेत उनको आग्रह थियो । आफूलाई बधाईभन्दा सुझाव र सल्लाह चाहिने भन्दै बधाईले थिचेर कामै गर्न नसक्ने अवस्था नबनाइदिनसमेत आग्रह गरे ।

मन्त्रालयका काममा पारदर्शिता र जवाफदेहिता अपनाउने प्रतिबद्धता जनाएका उनले गुनासो नआउने गरी काम गरेर देखाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

 
 
  
 

You may also like