तानाशाही शक्तिले अझै पनि नेपाल र नेपाली जनताविरुद्ध षड्यन्त्र गरिरहेका छन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा तानाशाही, निरंकुश शक्तिले अझै पनि नेपाल र नेपाली जनताविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।

वाग्मती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले सचेत नेपाली जनतालाई यस्ता षड्यन्त्र मान्य नहुने बताए । ‘उनीहरुको षड्यन्त्र नेपाल र नेपाली जनताविरुद्ध चलिरहेको छ । आजभोलि सञ्चारमाध्यमबाट सुन्न सकिन्छ, देशलाई बन्धकी राख्ने, नेपाली जनताको इज्जत प्रतिष्ठा, उनीहरुको आत्मसम्मान, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको छ । सचेत, स्वस्थ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन,’ दाहालले भने ।

इतिहासलाई पछाडि धकेल्ने प्रयत्न भएको प्रचण्डको दाबी छ । तर, लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य नहुने प्रचण्डले बताए । ‘आजको परिस्थिति कुनै एउटा पार्टी विशेष वा नेता विशेषले मात्रै ल्याएको परिवर्तन हैन । आम नेपाली जनताले गरेको संघर्ष र बलिदानको परिणाम हो । केही मुठ्ठीभर मान्छेले षड्यन्त्रपूर्वक यसलाई उल्ट्यान खोज्नेकुरा नेपाली जनतालाई मान्य छैन,’ उनले भने ।

 

 
 
  
 

You may also like