नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका छन् ।

तर, देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर, देउवाले बिहीबारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरस्वरूप देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् ।

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई बैठकका लागि बोलाएका हुन् । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतार हतार काठमाडौं आएका छन् ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसद्मा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।

केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ । यस विषयमा आवश्यक रणनीति बनाउन देउवाले बिहीबार साँझ आफ्नै निवास बूढानीलकण्ठमा निकटस्थ नेतासँग परामर्श गरेका थिए ।

परामर्शक्रममा निकटस्थले केन्द्रीय समिति बैठकबाट सरकारको नेतृत्व गर्ने निर्णय लिएको एक साता बितिसकेकाले अन्तरपार्टी छलफल गर्न देउवालाई सुझाएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुसार शुक्रबार बस्ने तीन दलको बैठकमा वर्तमान सरकारको विकल्प खोज्ने, अविश्वास प्रस्ताव, नयाँ सत्ता समीकरणलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

माओवादी केन्द्र सरकार परिवर्तन गर्न व्यापक दौडधुपमा लागे पनि जनता समाजवादी पार्टीले यो विषयमा खासै रुचि देखाएको छैन । जसपाले रुचि नदेखाएपछि कांग्रेसलाई सरकार परिवर्तनका लागि अग्रसरता लिन पनि समस्या परेको छ । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like