प्रधानमन्त्री भन्छन्–नुनपानीमा अम्बाको पात उमालेर कुल्ला गरिदिउँ कोरोना चैट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका छन् ।

‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,’ उनले थपे, ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुई वटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको कोरोना चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न उनले आग्रह गरे । उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए ।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुनेलगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ थियो । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं ।’

प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताए । उनले भने, ‘सरकारले प्रयाप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै बिग्रिएको चिजलाई फेरि ट्र्याकमा ल्याउन अलिकति समय लाग्दैछ । तर समयले अब गति लिँदैछ । हामीले जुन ट्रयाक लिँदैछौं यसले गति लिँदै छ ।’

 
 
  
 

You may also like