कार्यकर्तालाई नेता नेपालले भने– निर्वाचन आयोगले ओलीलाई आधिकारिकता दिए पनि आत्तिनु पर्दैन

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा केपी ओलीलाई एमाले दिए पनि नआत्तिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । आज (मंगलबार) आफू निकट बागमती प्रदेश कमिटीको घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा पनि नआत्तिन आग्रह गरेका हुन् ।

उनले समस्या आएमा समाधान पनि निकाल्ने दावी गरे । आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने उनले दृढता व्यक्त गरेका छन् । एउटै डुङ्गामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याई छाडने उनको प्रतिवद्धता छ ।

उनले भने ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरूलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरूलाई छाडने छैनौं । तपाईहरू र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनु पर्ने केही छैन ।’

नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरूसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनले बताए । उनले भने ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, मोहन बैद्यजीहरूको समूहसँग कुरा गर्‍यौं उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरूले पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकतावद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरू खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालको भनाइ छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको आरोप लगाउँदै नेपालले ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरूसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेपालको भनाइ छ ।

ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेपालले बताए । आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको नेपालले बताए ।

 

 
 
  
 

You may also like