विराजले ७३ खेलपछि राष्ट्रिय टोलीबाट लिए बिदा

काठमाडौं। राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेलेका पूर्व कप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । यसअघि नै थ्री नेसन कप राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम केही समय खेलेर बिदा लिए ।

उनी खेलको ८६ औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दा कप्तान किरणले सम्मानस्वरूप कप्तानको ‘आर्म ब्यान्ड’ दिएका थिए । खेल सकिएपछि सहकर्मी खेलाडीहरूले उनलाई पालैपालो बोकेर मैदानको परिक्रमा गराएका थिए । त्यसपछि प्रधानमन्त्री केपी ओलीले एन्फाको लोगोसहितको ब्लेजर लगाइदिएर उनको सम्मान गरेका थिए । विराजले आफ्ना लागि यो अविस्मरणीय क्षण रहेको बताए ।

‘फुटबल खेल्न सुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । यहाँहरू सबैको साथ र सहयोगले यो सफलतासम्म आइपुगेको छु,’ सन्न्यासपछि विराजले भने, ‘यो बिदाइ मेरो जीवनकै अविस्मरणीय क्षण हुनेछ । यो क्षणलाई म कहिल्यै बिर्सने छैन ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकैका विराज फुटबल माहोलमा हुर्किएका हुन् । उनका बुबा, काका र दाइ पनि आफ्नो समयका फुटबल खेलाडी हुन् । एन्फा एकेडेमी प्रशिक्षित उनले विभिन्न उमेर समूह हुँदै सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

उनले राष्ट्रिय टोलीबाट एक गोलसमेत गरेका थिए । उनको नेतृत्वमा नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलतर्फको उपाधि जितेको थियो । राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि घरेलु फुटबलमा भने उनी सक्रिय रहने छन् । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like