काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अपेक्षाअनुसार उपलब्ध नभएपछि दोस्रो डोज लगाउने मिति लम्बिने भएको छ । हालसम्म भारतको सहयोग, कोभ्याक्स योजना र भारतबाट किनेको समेत गरी नेपालमा जम्मा २३ लाख ४८ हजार डोज खोप आएको छ । त्यसमध्ये १५ लाखभन्दा बढी डोज प्रयोग भइसकेको छ ।
यस हिसाबमा अब नेपाल सरकारसँग करिब आठ लाख डोज खोप मात्रै बाँकी छ । बाँकी रहेको खोपलाई पनि सरकारले पहिलो डोजको रूपमा प्रयोग गरिरहेको छ । फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) अनुसार खोपको दोस्रो डोज चारदेखि आठ साताको अन्तरालमा लगाउँदा मात्रै यसले प्रभाव देखाउँछ । त्यसपछि लगाएको खोप प्रभावकारी नहुने एफडिएको भनाइ छ । तर, नेपाललाई भ्याक्सिन उपलब्ध गराउँदै आएका देशहरूमा कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले तिनै देशमा समेत भ्याक्सिन अभाव भइरहेको विभिन्न रिपोर्टले देखाएको छ ।
यसअघि नेपाल सरकारले दोस्रो डोज खोप वैशाखदेखि नै सुरु गर्ने जनाएको थियो । सोहीअनुसार सरकारले भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटलाई १० लाख डोजको रकम भुक्तानी पनि गरिसकेको छ । तर, खोप कहिलेसम्म आउँछ भन्ने कुनै निर्णय भएको छैन ।
पहिलो डोजकै लागि अपेक्षाअनुसार खोप नआएपछि सरकारले दोस्रो चरणमा दिने भनिएको ५५ वर्षमाथिको उमेर समूहलाई ६५ वर्षमाथि बनाएको थियो । यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र ग्लोबल भ्याक्सिन अलाएन्स (गाभी) कोभ्याक्स सुविधाअन्तर्गत ६० लाख नागरिकलाई पुग्ने गरी दिने भनिएको खोप पनि तीन लाख ४८ हजार डोजमा सीमित भएको छ । कोभ्याक्सअन्तर्गतको बाँकी १९ लाख डोज खोप जेठसम्म मात्रै आउने जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पहिलो डोजका लागि १५ लाखभन्दा बढी डोज खोप प्रयोग भइसकेको छ । खोपको केही डोज खेर जान्छ, यसबाहेक बाँकी रहेको आठ लाख डोज खोप वृद्धवृद्धालाई लगाइरहेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन्, ‘अहिले हामीसँग उपलब्ध खोप सकेसम्म धेरै व्यक्तिमा एक डोज मात्र भए पनि लगाउने भन्ने हो । वृद्धवृद्धाहरूलाई छाडेर बाँकी भएको खोप अर्को डोजका रूपमा दिन मिलेन, यस्तै खोपको एक्सपायर डेटको पनि ख्याल गर्नुपर्ने भएकाले अहिले भएको खोप लगाइसक्ने तयारी हो । दोस्रो डोजका लागि योजना बनाइरहेका छौं ।’
भारतमै खोप अभाव हुने अनुमान
स्वास्थ्य मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिने भनेको ‘सिनोफर्म’ को आठ लाख डोज भ्याक्सिन कहिले आउने भन्ने यकिन छैन । चीनबाट सिनोफर्म भ्याक्सिन आए पनि पहिलो डोज कोभासिल्ड लगाएकालाई दोस्रो डोज पनि कोभासिल्ड नै लगाउनुपर्ने हुन्छ । यसकारण सरकारले थप खोप पनि कोभासिल्ड नै ल्याउने प्रयास गरिरहेको मन्त्रालयको भनाइ छ । तर, भारतमा कोभिडको दोस्रो लहर चलिरहेकाले उतै खोपको माग बढिरहेको छ ।
यसकारण नेपालमा दोस्रो डोज भ्याक्सिन अभाव हुन सक्ने चिकित्सकहरूको अनुमान छ । भारतको महाराष्ट्र, केरला, कर्नाटक, तमिलनाडु, पन्जाबलगायत राज्यमा कोरोना संक्रमणदर बढिरहेको छ । महाराष्ट्रमा मात्र दिनको १५ देखि १६ हजारका दरले संक्रमित थपिइरहेका छन् । दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसँग सिमाना जोडिएका राज्यमा पनि संक्रमणदर बढिरहेको छ ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘अस्ट्रेलियाले किनेको एस्ट्राजेनेकाको दुई लाख ५० हजार डोज लैजाने क्रममा इटालीले जहाज रोकेको धेरै भएको छैन । युरोपमै महामारी व्यापक नियन्त्रण भइनसकेका वेला भ्याक्सिन बाहिर दिनु हुँदैन भन्ने मत बढेको छ ।’ क्यानडा, अस्ट्रेलिया, जापानलगायत देशमा पनि खोपको तिर्खा उस्तै छ । भारतमा दोस्रो लहर फैलिएकाले नेपालमा भ्याक्सिन सहज उपलब्ध हुन गाह्रो हुने उनको भनाइ छ ।
समयमै दोस्रो डोज नलगाउँदा के हुन्छ ?
कोभासिल्ड भ्याक्सिनको पहिलो डोजले शरीरमा कोभिड संक्रमणविरुद्ध तीन महिनासम्म काम गर्छ । नेपालमा पहिलो चरणमा खोप लगाएको ६ साता मात्र पुगेको छ । भ्याक्सिनको ट्रायलको समयमा चार साताको अन्तरालमा लगाउनुपर्ने बताइएको थियो । बेलायतमा गरिएको पछिल्लो अध्ययनअनुसार खोपको दोस्रो डोज आठ सातापछि लगाउँदा प्रभावकारी हुने उल्लेख छ ।
पछिल्ला अध्ययनले बढीमा १२ सातासम्म ढिला गर्दा पनि खोप प्रभावकारी हुने जनाएका छन् । वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार विभिन्न अध्ययनले कोभासिल्ड भ्याक्सिनको पहिलो डोजले लगभग ५० प्रतिशतसम्म प्रभावकारी हुने गर्छ । यो बीचमा कोभिड संक्रमण भइहालेमा पनि संक्रमणको जोखिम कम रहन्छ । तर, खोपको एक डोज मात्रै शतप्रतिशत प्रभावकारी भने हुँदैन ।
नेपालमा हालसम्म कोभिसिल्ड खोपको आयात
भारत सरकारबाट उपहार – १० लाख डोज
भारतबाट किनेको – १० लाख डोज
कोभ्याक्स कार्यक्रमबाट – तीन ताख ४८ हजार डोज
जम्मा आएको – २३ लाख ४८ हजार डोज
शनिबारसम्म खोप लिएका व्यक्ति – १५ लाख डोज
नेपालमा पहिलो खोप लगाउन सुरु गरिएको २६ जनवरीबाट
दोस्रो डोज नपाए पहिलो डोजको अर्थ हुँदैन– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्
पहिलो चरणमा भ्याक्सिन लगाएकाहरूका लागि दोस्रो डोज स्टकमा राख्नुपर्ने हो । यदि समयमै दोस्रो डोज लगाउन नपाउने स्थिति भयो भने पहिलो डोज लगाएका व्यक्ति तीन महिना मात्र सुरक्षित हुन सक्छन् । दोस्रो डोज नपाए पहिलो डोजको अर्थ हुँदैन ।
पहिलो चरणमा उच्च जोखिम समूहलाई खोपको प्राथमिकतामा राख्नुपर्ने थियो । नेपालको सीमामा पर्ने भारतका विभिन्न स्थानका दोस्रो लहर चलिरहेकाले हालसम्मको खोप प्रयोगको योजना प्रभावित हुने देखिन्छ । अर्थात् पहिलो डोज लगाएका हरेक व्यक्तिको दोस्रो डोज स्टोरमा सुरक्षित गर्ने सिद्धान्तमा चुक्यो भने खोप कार्यक्रम बालुवामा पानीसरह हुन्छ । नयाँ पत्रिका दैनिकबाट