हिजरी संवतको अवसरमा गरे ७० जनाले रक्तदान

by समतल अनलाइन

तिलोत्तमा । इस्लाम धर्मावलम्वीको नयाँ वर्ष १४४१ औं हिजरी सम्वतको अवसरमा रजा-ए मुस्तफा मस्जिद समितिले बिहीबार बुटवलमा रक्तदान गरेको छ । मस्जिद परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको समितिले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री अव्दुल रज्जाक सबै धर्म र समुदायबीच एकता र सदभाव दर्शाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले धार्मिक सहिष्णुता आजको आवश्यकता रहेको उल्लेख गर्दै इस्लाम धर्मावलम्बीहरुले बेलाबखतमा गरेका सामाजिक कार्यहरुको प्रशंसा गरे ।

उनले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सबै क्षेत्र र समुदायका हक अधिकार संविधानले सुनिश्चित गरेकाले यसको सफल कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । साथै पुरानो बटौलीको विकासमा सबैको हातेमालो जरुरी रहेको औंल्याउँदै यस क्षेत्रलाई सरसफाईदेखि लिएर विकासमा नमुना बनाउनुपर्ने उनले बताए ।

रजा-ए मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी मकवुल मियाँले इस्लामिक नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष समितिले रचनात्मक काम गर्दै आएको जानकारी
दिंदै आगामी दिनमा पनि यस्ता कार्यलाई अघि बढाइने उल्लेख गरे । साथै उनले विकास निर्माणका सवालमा आफूहरु स्थानीय तह र राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्न चाहेको बताए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी रहमद खाँन, सचिव अब्दुल सहमद, मदिना मदरसा मस्जिद प्रवन्ध परिषदका अध्यक्ष सक्कुर मिया लगायतले सामाजिक कार्यमा मस्जिद समितिले आफूलाई सक्रिय गराउँदै आएको बताएका थिए ।

मस्जिद समितिले विभिन्न समयमा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, अनाथ बालबालिकाहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण जस्ता सामाजिक कार्य गर्दै आएको समितिका अध्यक्ष मकवुल मियाले बताए ।

 
 
  
 

You may also like