प्रधानमन्त्रीसँग अदालत नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा

by समतल अनलाइन

‘कांग्रेसले संसद विघटनलाई कुनै अलमल विना असंवैधानिक भन्नु पर्छ’
चितवन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् ।

चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना पक्षपात, विना कुनै भय निर्णय गर्नुपर्ने बताएका छन् । सर्वोच्चमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दातर्फ संकेत गर्दै नेता थापाले आफूलाई सर्वोच्चले निष्पक्ष निर्णय दिनेमा विश्वास रहेको बताए ।

‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो यो अदालत प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्, अदालतले संविधानको धारा मात्र हेरोस् !’
उनले अदालतबाट संसद पुनर्स्थापना भएरै छोड्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले संविधानको विघटन हुँदा त्यसको विरुद्धमा पार्टी एकजुट हुुनुपर्ने समेत बताएका छन् । उनले संविधानमा भएका सबै कुरालाई लिएर यसको रक्षाका लागि सबै उठ्नुपर्ने बताए ।

उनले भने, ‘जगै हामीले भत्कायौं भने घर कसरी बनाउने ? यो संविधान हाम्रा निम्ति जग हो, यही टेकेर घर बनाउने हो’, उनले थपे, ‘तर, प्रधानमन्त्री ओलीले त्यही जग भत्काई दिए ।’ बेलायत, भारत वा अमेरिकाको जस्तो नभई नेपालको आफ्नै खालको मौलिक व्यवस्था राखेर संविधान लेखेको बताउँदै उनले १६५ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेर आएको प्रधानमन्त्रीलाई २ वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने र बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइने व्यवस्था गरेको स्पष्ट गरे ।

‘बहुमतप्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने खुरुक्क घर जाने र बस्ने हो’, थापाले भने । उनले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले कुनै अलमल विना असंवैधानिक भन्नुपर्ने बताए ।

 

 
 
  
 

You may also like