निर्वाचन आयोग छ नि, निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो : देउवा

by समतल अनलाइन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विवादको वैधानिकताबारे अहिलेसम्म निर्णय गर्न नसकेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले बुटवलमा आयोजना गरेको विरोधसभलाई सम्वोधन गर्नै सभापति देउवाले समयमा निर्वाचन गराउँछ भन्नेमा निर्वाचन आयोगमाथि नै शंका गर्ने बेला भइसकेको बताएका हुन् ।

आयोगले बदमासी गर्न सक्ने आशंका व्यक्त गर्दै सभापति देउवाले भने, ‘निर्वाचन आयोग छ नि निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो,’ उनले थपे , ‘अहिलेसम्म किन चुनाव चिन्ह दिएको छैन । किन निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छैन । यसले बदमासी गर्नसक्छ ।’

उनले जुनसुकै समयमा पनि निर्वाचन हुन्छ भनेर सँधै तयारी अवस्थामा रहनु पर्ने आयोगले अहिलेसम्म किन चुनावको काम अघि नबढाएको भन्दै प्रश्न गरेका छन् । उनले नेकपाको झगडामा कांग्रेसको कुनै भूमिका नभए पनि जारी नेकपाभित्रको झगडाका कारण कांग्रेसभित्र समेत विवाद शुरु भएको बताएका छन् ।

‘नेकपाको झगडाले हाम्रै पार्टीमा समस्या भयो । कसले के भनेको छ, कसले के भनेको छ । नेकपा झगडामा हाम्रो हात छैन,’ उनले भने, ‘नेकपाको झगडामा हामी कुनै पक्षतर्फ लाग्नु पर्ने आवश्यकता पनि छैन ।’ संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यस्तै निर्णय गर भनेर कसैले प्रदर्शन गरेर दबाब दिन नहुने उनले दोहोर्‍याए ।

 

 
 
  
 

You may also like