मलेसियामा श्रमिकको निधन भएमा परिवारले आजीवन पेन्सन पाउने

by समतल अनलाइन

नेपाली कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो) मा आबद्ध गराउँदै मलेसिया सरकार
काठमाडौं। श्रम स्वीकृति लिएर मलेसिया जाने नेपाली कामदारको मृत्यु भएमा आश्रित परिवारले आजीवन पेन्सन पाउने भएका छन् ।

श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पाउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले जानकारी दिए । मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था (सोक्सो) कार्यक्रमअन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका हुन् ।

मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आबद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘डेढ वर्षअघि सोक्सोका प्रतिनिधि भ्रमण आएका थिए । त्यतिवेला सोक्सोकोे विषय उठान भएको थियो । सोहीबमोजिम उनीहरूले प्रस्ताव पठाएका हुन्’ उनले भने । सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद्ले समेत पारित गरेको छ । त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने उनले बताए । सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने उनको भनाइ छ ।

कम्पनीले पारिश्रमिकको १.६० प्रतिशत जम्मा गरिदिने
मलेसिया जाने नेपाली श्रमिकलाई मलेसियन रोजगारदाता कम्पनीले सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्नेछ । सामाजिक सुरक्षामा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १.६० प्रतिशत बराबर रकम जम्मा गर्नुपर्नेछ । यो रकम रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिकबाट भने कटाउन नपाउने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

नेपालबाट श्रम स्वीकृति लिएर वैधानिक रूपमा मलेसियामा कार्यरत नेपाली श्रमिक मात्रै सोक्सोमा आबद्ध हुन पाउने छन् । त्यसैले रोजगारदाता कम्पनीले श्रमिक लैजाने निश्चित भइसकेपछि सोक्सोमा श्रमिकको विवरण दर्ता गराउनु पर्नेछ । नेपाली श्रमिक सोक्सोमा आबद्ध हुन पाउने व्यवस्थाले मलेसियाको रोजगारी सुरक्षित बन्दै जाने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

‘यस व्यवस्थाले रोजगारदाता कम्पनी र मलेसियन सरकारलाई दुवैलाई जिम्मेवार बनाउनेछ । त्यस्तै, गैरकानुनी रूपमा बस्न निरुत्साहित गर्नेछ’ उनले भने । त्यस्तै, नेपाल सरकारलाई पनि अन्य मुलुकसँग यस्तै सम्झौता गर्न बाटो खुला गर्ने उनले बताए ।

मलेसियामा १३ वर्षमा ३ हजार नेपाली श्रमिकको मृत्यु
विगत १३ वर्षको अवधिमा मलेसियामा गएका ३ हजार १७ नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालू आवको पुस महिनासम्ममा १६५ नेपाली श्रमिकको मृत्यु भएको छ ।

त्यस्तै, आव २०७६–७७ मा १७६, आव २०७५–७६ मा २२९, आव २०७४–७५ मा २८९, आव २०७३–७४ मा २६०, आव २०७२–७३ मा ३३९, आव २०७१–७२ मा ४२५, आव २०७०–७१ मा ३०३, आव २०६९–७० मा २५०, आव २०६८–०६९ मा २३८, आव २०६७–६८ मा २२३, आव २०६६–६७ मा १०७ र आव २०६५–६६ मा १३ जना श्रमिकको मृत्यु भएको बोर्डले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा हाल सबा ३ लाख नेपाली श्रमिक कार्यरत छन् । तर, गैरकानुनी रूपमा रहने कामदारको पनि उत्तिकै रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । तर, गैरकानुनी रूपमा रहेका श्रमिक भने सोक्सोमा आबद्ध हुन पाउने छैनन् ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमध्ये मलेसिया एक हो । नेपाली श्रमिकहरू दुई दशकअघिदेखि श्रमका लागि मलेसिया जाने गरे पनि २०७५ साल चैतमा मात्रै नेपाल र मलेसियन सरकारबीच श्रम सम्झौता भएको थियो । सम्झौता नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउने छन् । श्रमिकको हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका खर्च रोजगारदाताले नै व्यहोर्नु पर्नेछ ।

नेपालले नेपाली श्रमिकलाई रोजगारीमा जान विश्वका ११० वटा मुलुक खुला गरेको छ । जसमध्ये कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

मृतकका परिवारले आजीवन ९० प्रतिशतसम्म पेन्सन पाउने
सामाजिक सुरक्षा संस्थामा आबद्ध हुने नेपाली श्रमिकले स्याथी अशक्ततादेखि पेन्सनसम्मको सुविधा पाउने छन् । सोक्सोले सञ्चालन गरेको अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्योपचार सुविधा, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा र अन्तिम संस्कारको खर्चसमेत सोक्सोले नै व्यहोर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

सोक्सोको सुविधाअनुसार नेपाली श्रमिकको कार्य अवधिमा नै मृत्यु भएमा मृतक परिवारले पेन्सन सुविधा पाउने छन् । सोक्सोले मृतकको परिवालाई कामदारको आधारभूत पारिश्रमिकको ९० प्रतिशतसम्म आजीवन पेन्सन उपलब्ध गराउनेछ । यो सुविधा मृतकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी) ले पेन्सन सुविधा पाउने छन् ।

त्यस्तै, मृतक कामदारको दाहसंस्कार गर्न सोक्सोले २ हजार रिंगेट (५७ हजार ६८० रुपैयाँ) प्रदान गर्नेछ । तर, कामदारको शव नेपाल ल्याउनुपरेमा ६ हजार ५ सय रिंगेट ( १ लाख ८७ हजार रुपैयाँ) प्रदान गर्नेछ ।

त्यस्तै, श्रमिक दुर्घटनामा परी अंगभंग भएमा सबै उपचार खर्च सोक्सोले नै व्यहोर्नेछ । तर, श्रमिक स्याथी रूपमा अशक्त भएमा आजीवन श्रमिकलाई नै निश्चित रकम प्रदान गर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like