फ्रान्समा कोरोना संक्रमित भइसकेकालाई खोपको एक मात्र डोज लगाउन सुझाव

by समतल अनलाइन

काठमाडौं। फ्रान्सका स्वास्थ्य निकायहरुले यसअघि कोरोनाबाट संक्रमित भइसकेकाहरुलाई कोभिड खोपको एउटा मात्र डोज लगाउन सुझाव दिएका छन् ।
संक्रमित व्यक्तिहरुमा कोभिडविरुद्ध केही न केही इम्युनिटी हुने हुनाले उनीहरुलाई ३ देखि ६ महिनापछि मात्र खोप लगाउँदा उचित हुने बताइएको छ । फ्रान्समा कोरोनाका २८ लाख खोप डेलिभर भइसकेको यसअघि त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

हाल विश्वव्यापी प्रयोगमा ल्याइएका तीनवटै प्रमुख खोपहरुका दुईवटा डोज छन् । तर, संक्रमित भइसकेकालाई एउटा खोप लगाउनु नै एन्टिबडिजको स्तर बढाउन र भाइरसविरुद्ध सुरक्षा दिलाउन पर्याप्त हुने फ्रान्सेली निकायले अध्ययनपछिको निष्कर्षमा उल्लेख गरेको छ ।

अर्कोतर्फ, शुक्रबार मात्र स्वास्थ्यमन्त्री ओलिभर भेरानले पूर्वी क्षेत्रमा नयाँ बढी संक्रामक किसिमको कोरोनाभाइरस फैलिरहेको जनाएका छन् । ब्राजिल, दक्षिण अफ्रिका र बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस यतिबेला फ्रान्समा ४ देखि ५ प्रतिशत नयाँ बिरामीमा फेला परिरहेको छ । तर, अझै पनि यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको उनले बताए ।

फ्रान्समा ३४ लाख बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८१ हजारको यसबाट मृत्यु भएको छ । त्यहाँ गएको डिसेम्बरदेखि नै खोप लगाउन सुरु गरिएको थियो । तर, तुलनात्मक रूपमा अहिले पछि परिरहेको छ । बीबीसी

 
 
  
 

You may also like