पार्टी फरक भए पनि डा. बाबुरामजी र म मुद्दाको मोर्चामा एकै ठाउँ छौं : अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फरक रहे पनि डा. बाबुराम भट्टराई र आफू मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् ।

डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौंमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई र आफूलाई विगतका इतिहासले पनि अलग हुने नदिने बताएका छन् ।

उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्‍याएको महसुस भएको पनि बताए ।

‘बाबुरामजी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ शहीद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ ।
प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खोस्ने प्रयास भएको भन्दै ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन् ।

उनले संविधान पूर्ण भएको भन्न नसक्ने भन्दै संविधानमा समावेशी, समानुपातिक, लोकतन्त्रको प्रत्याभूति गर्नु राम्रो पक्ष पनि रहेको बताएका छन् । ‘शिक्षा, स्वास्थ्य जस्ता कुराहरु मौलिक हकका रुपमा राखिएको छ’, प्रचण्डको भनाइ छ ।

संविधान संशोधन गर्न आफूले दुई पटक प्रस्ताव दर्ता गराएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत जारी गरेको संविधानको मुल मर्ममाथि अहिले प्रधानमन्त्री केपी ओलीले प्रहार गरेको बताएका छन् ।

 
 
  
 

You may also like