निर्वाचन आयोगबाट बाहिरिएका प्रधानमन्त्री सिधै पुगे राष्ट्रपति निवास

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।आज (मंगलबार) निर्वाचन आयोगमा एक घण्टा छलफल गरेर बाहिरिएका प्रधानमन्त्री सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

‘निर्वाचन अयोगबाट प्रधानमन्त्री ज्यू सिधै रााष्ट्रपति निवास पुग्नु भएको छ’, सुरक्षा स्रोतले भन्यो, ‘१ बजे राष्ट्रपति निवास छिर्नु भएको हो, अहिलेसम्म निस्कनु भएको छैन ।’ निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री सिधै राष्ट्रपतिलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ ।

निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले निवार्चनको तयारीबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगसँग आग्रह गरेको जानकारी दिए ।

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्री ज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेका छन् । यता प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत नागरिक समाजले आन्दोलन गर्दै आएका छन् । भोलि (बुधबार) नेकपाले काठमाडौंमा प्रदर्शन गर्दैछ ।

 
 
  
 

You may also like