अब ओलीको पनि ज्ञानेन्द्र शाहको जसरी नै विदाइ हुन्छ : डा. मिनेन्द्र रिजाल

by समतल अनलाइन

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पूर्वराजा ज्ञानेन्द्र शाहको जसरी नै बिदा हुने दिन आउन लागेको बताएका छन् ।

सत्तामा आएपछि नियम कानून नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको दावी गर्दै नेता रिजालले ओलीको पनि त्यही दिन आउने उनले ठोकुवा गरे । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने उनले बताए ।

डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखका लागि घोषणा गरेको निर्वाचन सत्ता लम्ब्याउने राणनीति मात्र भएको बताएका छन् । आज (आइतबार) बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले भने, ‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणा गरेको हो, त्यो बहाना मात्रै हो ।’ रिजालले ‘न रहे बाँस न रहे बाँसुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको उनले बताएका छन् । रिजालले विगतका प्रतिकूल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै सर्वोच्चले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा होस् अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ ।’

 
 
  
 

You may also like