नयाँदिल्लीस्थित इजरायली दूतावास छेउमा बम विष्फोट

by समतल अनलाइन

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विष्फोट भएको छ ।विष्फोटबाट नजिकका कारमा क्षति पुगेको, तर कोही पनि घाइते नभएको बिबिसीले उल्लेख गरेको छ । कम क्षमताको कुनै विष्फोटक उपकरण प्रयोग गरी विष्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको इजरायलले जनाएको छ । तर, यसलाई आतंककारी हमलाको रूपमा लिएको एक इजरायली अधिकारीले समाचार एजेन्सीहरूलाई बताएका छन् । ‘दूतावासका कर्मचारी तथा भवनमा विस्फोटबाट कुनै प्रभाव परेको छैन, घटनाका बारेमा भारतीय अधिकारीहरूले छानबिन गरिरहेका छन्,’ इजरायली विदेश मन्त्रालयले जनाएको छ ।

शुक्रबार भारतको स्थानीय समयअनुसार साँझ ५ बजेलगत्तै विष्फोट भएको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेको थियो । ‘यो सनसनी मच्चाउने उद्देश्यका साथ गरिएको एक दुष्प्रयास रहेको देखिन्छ,’ दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

नौ वर्षअघि कारमुनि राखिएको बम विष्फोट हुँदा नयाँदिल्लीमै एक इजरायली कूटनीतिक अधिकारीकी श्रीमती घाइते भएकी थिइन् । सोही दिन जर्जियाको राजधानी बिलिसीमा पनि इजरायली कूटनीतिक गाडीमुनि बम राखिए पनि त्यो विष्फोट हुनबाट जोगिएको थियो । एजेन्सी

 
 
  
 

You may also like