बुटवलको अन्नपूर्ण हाइपर मार्केटमा किनबेच सुरु

by समतल अनलाइन

बुटवल । सुपर मार्केटको बजारमा बुटवलमा एकाधिकार कायम गरेको भाटभटेनी सुपर मार्केटको प्रतिस्पर्धामा डेल्टा एजुकेशन मार्ट र अन्नपूर्ण हाइपर मार्केटले संचालनमा ल्याएको नयाँ सुपर मार्केटले सोमबारबाट औपचारिक कारोबार सुरु गरेको छ ।

बुटवलको मिलनचोकमा खुलेको अत्याधुनिक सुपर मार्केटको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरेका छन्।सुपर मार्केटको उदघाटन गर्दै उपाध्यक्ष ढकालले निजी क्षेत्रबाट संचालनमा आएका यस्ता सुपर मार्केटहरुले उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउनु पर्ने बताए ।

ढकालले गैर व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको लगानीमा खुलेको व्यवसायिक प्रतिष्ठानले सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए । उनले कारोबार संचालनमा बाधा व्यवधान आए उद्योग वाणिज्य महासंघ मध्यस्तता गर्न तयार रहेको जनाए ।

सरकार तथा सरोकारवाला निकायबाट आउन सक्ने समस्या समाधान गर्न महासंघ सदैव तयार रहेको उल्लेख गर्दै ढकालले मार्टबाट बुटवल र यस आसपासका उपभोक्ताहरुले गुणस्तरीय र सुलभ सेवा पाउने विश्वास व्यक्त गरे ।

ढकालले आफ्नो कम्पनीले निकट भविष्यमा बुटवलको बसन्तपुरसम्म केवलकार संचालनको तयारी गरिरहेको पनि जानकारी दिए ।कार्यक्रममा मार्टका तर्फबाट डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले शिक्षण पेशामा ५० औ वर्ष बिताएका शिक्षकहरुको सानो सानो लगानीबाट सुरु भएको एजुकेशन मार्टको स्तरोन्नती गर्दै अन्नपूर्ण हाईपर मार्केट बनाउन सफल भएको जानकारी दिए ।

उपाध्यायले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै उपभोक्ताको सहज पहुँच र सुलभ उपलब्धतालाई मार्टले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

डेल्टाको ३४ करोड र अन्नपूर्णको ५ करोड लगानीमा आजबाट संचालनमा आएको मार्टमा ग्रोसरी, गिफ्ट आईटम, स्टेसनरी, पाठ्यपुस्तक, खेल सामाग्री तथा शैक्षिक उपयोगका फर्निचरहरु उपलब्ध रहेका छन् ।

मार्टमा कृषि क्षेत्रको स्थानीय उत्पादन तथा छपियाको माछा, ताजा तथा फ्रोजन मिटहरु समेत उपलब्ध रहेको संचालकहरुले बताएका छन् ।

मार्टभित्रै बनाइएको पोखरीमा छपियाको जिउँदो माछा समेत उपलब्ध हुने डेल्टाका संचालक गणेशचन्द्र पोखरेलले बताए ।

कारोबार संचालनको अवसर पारेर माघ मसान्त सम्मका लागि हरेक सामाग्री खरिदमा १० प्रतिशत छुट उपलब्ध गराइएको अन्नपूर्ण हाइपर मार्केटका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले जानकारी दिए । मार्टले लुम्बिनी प्रदेशकै ठूलो करदाताकारुपमा कारोबार गर्ने लक्ष्य राखेको छ।

 
 
  
 

You may also like