कोरोना खोप उत्पादक सिरम इन्स्टिच्युटमा भएको आगलागीबाट भारु एक हजार करोडको क्षति

by समतल अनलाइन

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया एसआईआई मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिृकत ९सीईओ० अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् । ‘बिहीबार पुणेस्थित कम्पनीमा आगलागीका कारण एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ सीईओ पुनावालाले भने ।

सीईओ पुनावालाले आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने पनि बताएका छन् । पुनावालाले भने, ‘कोरोना खोप उत्पादनमा कुनै असर पर्दैन । हामीले कम्पनीमा कैयौं औषधि बनाउँछौं । तर बीसीजी खोपको आपूर्ति भने प्रभावित हुन सक्छ । यस घटनाले हामीलाई ठूलो आर्थिक क्षति पुगेको छ ।’

आगलागीमा परी कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्यु समेत भएको थियो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सायरस पुनावालाले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । भारत सरकारले उक्त कम्पनीले बनाएकै कोभिसिल्ड खोपको १० लाख डोज नेपाल सरकारलाई उपलब्ध गराएको छ । डोजको संख्याका हिसाबले एसआईआई विश्वकै ठूलो खोप निर्माता कम्पनी हो । एजेन्सी

 

 
 
  
 

You may also like