अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

by समतल अनलाइन

काठमाडौं । सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आईसीएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्र समेत गरिसकेको छ । कोभिड अस्पताल तोकिएकाले अन्य बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सबै अस्पतालले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैं नियमित प्रदान गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालले कोभिड र ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पताललाई परिपत्र गरेको छ ।

यस्तै, देशभर हाल २२७ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत १९७ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा पाँच जना आईसीयूमा रहेका छन् ।

बागमती प्रदेशमा ७१ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र सात जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १४ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयूमा उपचाररत रहेका छन् । यस्तै, देशभर एक हजार ६०८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेको छ ।

यस्तै, ३ हजार ५२५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेश एकमा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

देशभर बुधबार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । बुधबार ६ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ ।

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको छ । हाल ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । बुधबार थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like