राजावादीलाई पौडेलको प्रश्न : गणतन्त्र मासेर कस्तो खालको राजा ल्याउन लागेको ?

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् ।

पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिन्थ्यो, कम्युनिष्ट शासनमा पुल बनाउँदा करंग भाँचियो ।’

सत्ताको घोर दुरूपयोग भएको र त्यो स्वीकार्य नहुने भन्दै पौडेलले भने, ‘कम्युनिष्टलाई कुनै मुद्दा कानुन लाग्दैन, राज्यको ढुकुटी मासेर, तहगत सरकारको अधिकार खोसेर, गाईजात्रा देखाएर सत्ताको दुरूपयोग गरिएको छ ।’

राजावादीहरुको प्रदर्शनप्रति इंगित गर्दै पौडेलले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नारा लागेको बताए । उनले राजा फालेर ल्याएको गणतन्त्र मासेर फेरि कस्तो खालको राजा ल्याउन खोजेको हो भनेर पनि प्रश्न गरेका छन् ।

‘अहिले सडकमा राजतन्त्रको पक्षमा नारा लागेको छ, यसको सबै जिम्मेवार सरकार हो, सरकारकै कारण यस्ता नाराहरु लागेका छन्’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि यो सरकारले प्रहार गर्‍यो ।’

राजा ल्याउन खोज्नेहरुले कस्तो किसिमको राजा ल्याउन खोजेको ? कोतपर्व, भण्डारखाल पर्व मच्चाउने कि, सत्र साल ल्याउने कि माओवादी जन्माएर प्रजातन्त्रको हत्या गर्ने ?’ पौडेलले प्रश्न गरे । देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्न सरकार असफल भएको उनले आरोप लगाए ।

सरकारलाई नालायक र भ्रष्टको संज्ञा दिँदै नेता पौडेलले अदालतहरु कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप पनि लगाए । तनहुँमा आफूमाथि गरिएको घटना उल्लेख गर्दै नेता पौडेलले भने, ‘देशका अरु ठाउँमा के भएको होला ? लोकतन्त्र संकटमा छ । सरकारले सारा समाज नियन्त्रण गर्ने प्रयत्न गर्दैछ ।’

 
 
  
 

You may also like