एक घण्टा जहाज कुराएको भन्दै यात्रुहरुले मन्त्री योगेशलाई पारे र्‍याखर्‍याख्ती

by समतल अनलाइन

काठमाडौं।नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्।

मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्।

बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६:२५ मा उड्ने तालिका थियो।

यात्रुहरूले मन्त्रीकै कारण ‘डिले’ भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडिओ सार्वजनिक भएको छ।

उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्।

‘तपाईंप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?’ आक्रोशित यात्रुहरूले मन्त्रीसमक्ष बोलेका छन्।

उक्त उडान मन्त्रीकै कारण ‘डिले’ भएको वा अन्य केही कारणले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

मन्त्री भट्टराई कन्चनपुरको टिकापुर गएका थिए। उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्रीको सचिवालयले स्वीकार गरेको छ।

तर आफूहरूकै कारण उडान ढिला नभएको सचिवालयले दाबी गरेको छ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६:५० भएको थियो। त्यसपछि जहाज उडेको हो,’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले सेतोपाटीसँग भने।

मन्त्री भट्टराईले फेसबुकमार्फत् आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तिका कारण यो सब भएको तर जहाज भने जम्मा १५ मिनेट ढिला भएको बताएका छन्।

यस्तो छ उनको फेसबुक स्टाटस:

उक्त जहाजमा यात्रा गरिरहेका यात्रुहरुले पनि मन्त्रीका कारण एक घण्टा बढी ढिला भएको बताएका छन्।

‘मन्त्रीका कारण उडान १ घण्टा ७ मिनेट ढिलाएको हो,’ उक्त उडानमै रहेका यात्रु अविश अधिकारीले सेतोपाटीसँग भने। बाहिर सार्वजनिक भएको भिडिओ पनि आफैंले खिचेको उनले दाबी गरेका छन्।

 
 
  
 

You may also like