बुटवल उपमहानगरपालिकाद्वारा ५ सय घर परिवारलाई लालपुर्जा वितरण

by समतल अनलाइन

बुटवल ।बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब पाँच सय घर परिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिएको छ । यस्तै वडा नं. १४ मा करिब ६० र वडा नंं १८ मा करिब ९० वटा लालपुर्जा तयार भइ वितरणको तयारीमा छन् ।

बुटवल–१८ को मोतिपुर पोखराबारीमा एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका २२ जनालाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप करिब ९० वटा पुर्जा तयार भइरहेका छन् ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१८ का ज्ञानेश्वर आचार्य र अर्की महिला ठनगी थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताए । प्राविधिक टोलीको अध्यय्नपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ ।
नगर प्रमुख सुवेदीले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा आजबाट पूर्ण स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन लागेको जानकारी दिए ।

सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, वडाअध्यक्ष हुमबहादुर आचार्य र नापी कार्यालयका यमप्रसाद पाण्डेलगायत त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागिता थियो ।उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो ।

भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।
मोतिपुरको पोखराबारीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन ।

अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताइन ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोलीप्रमुख यमप्रसाद पाण्डेले वर्षैदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए । उनले नापीका काममा सहयोग पु¥याउने जनप्रतिनिधि र वडाका अगुवा सबैलाई धन्यवाद पनि व्यक्त गरे ।

जग्गाधनी वितरण कार्यक्रममा वडा नं १८ का वडाध्यक्ष हुमनाथ आचार्य, जनप्रतिनिधि गोपाल नेपाल, नागरिक अगुवा खुमराज ढकाल, नापी कार्यालयका पदाधिकारीलगायत जनप्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेताको सहभागितामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पुर्जा वितरण कार्यक्रम गरिएको थियो ।

 
 
  
 

You may also like