मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष असन्तुष्ट

by समतल अनलाइन

काठमाडौं।मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ ।‘प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,’ प्रचण्डनिकट स्रोतले भन्यो । सहमतिमा सरकार सञ्चालन गर्ने नियत नदेखिएको प्रचण्ड नकट स्रोतले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता नेपालले पनि मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप लगाएका छन् ।उनले यसमा कुनै सहमति नभएको र यो पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार आफ्नो गुटका मात्रै मन्त्री बनाएको उनीहरुको आरोप छ ।ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् ।

त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका छन् भने सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेता नेपाल स्रोतले भन्यो, “हामीसँग कुनै सल्लाह गरिको पनि छैन । यो पार्टी निर्णयविपरीत छ ।”

स्रोतका अनुसार सहरी विकास मन्त्रालयमा ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारको नाम नेपाल पक्षले पठाएको थियो । ओलीले श्रेष्ठलाई मन्त्री बनाएपछि नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

 
 
  
 

You may also like