दशैंका लागि असोज २० गतेबाट टिकट बुकिङ खुलाउने तयारी

by समतल अनलाइन

काठमाडौं । सरकारले आगामी दशैंमा घर जाने यात्रुहरुका लागि असोज २० गतेबाट सार्वजनिक सवारीको टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीहरुलाई प्रस्ताव गरेको हो । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५ गतेसम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

उनका अनुसार यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने विभागको अनुमान छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष कोरोना संक्रमणका कारण यात्रुको संख्या करिब ४ भागले कम हुने बताइएको छ ।

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले भने सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ ।

व्यवसायीहरुले भने विमानको हकमा यस्तो नियम नलगाएको तर बसमा आधा यात्रु मात्र राख्न लगाएको नियम नमान्ने बताइरहेका छन् । उनीहरुले विमानमा जस्तै बसमा पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् ।

 
 
  
 

You may also like