शैक्षिक परामर्श गर्ने व्यवसाय सञ्चालनको वातावरण बनाईदिन ई–क्यान रुपन्देहीको माग

by समतल अनलाइन

गोविन्द वस्नेत
बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई आईतबार ज्ञापन पत्र बुझाउँदै ई–क्यान रुपन्देहीका अध्यक्ष देवबहादुर कुवँरले शैक्षिक परामर्श प्रदान गर्ने व्यबसायीहरु सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सबै प्रकारको नियमन तथा निर्देशनको पालना गर्न तयार रहेकाले सोही अनुसार व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गर्नुभयो ।उक्त ज्ञापन पत्रमा शैक्षिक परामर्श प्रदाने गर्ने व्यबसाय अन्य बिद्यालय तथा कलेजहरुमा जस्तो गरी भिडभाड नहुने र बिद्यार्थीलाई भाषा कक्षा समेत अनलाईन माध्यमबाट गरिँदै आएकाले परामर्श, प्रमाणपत्र, सेवा शुल्क, आवश्यक कागजात तथा फारममा हस्ताक्षर गर्नका लागि उपस्थित हुनु पर्ने भएकाले कार्यालय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गरिएको छ ।

 

त्यस्तै ज्ञापन पत्रमा कक्षा कोठामा सञ्चालन गर्दै आएको भाषा परिक्षाका तयारी कक्षा समेत अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको र सरकारको अर्को सूचना नआउँदासम्म अनलाईन माध्यमबाटै सञ्चालन गर्ने कुनै समस्या नभएको उल्लेख गरिएको छ ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले तत्काल आफूले निर्णय गर्न नसक्ने जानकारी गराउँदै केन्द्रले निर्णय गर्यो भने जिल्लाबाट कुनै रोकतोक नगरिने बताउनु भयो । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण शैक्षिक परामर्श प्रदान गर्ने व्यबसाय पनि पूर्णतया बन्द छ । यो व्यबसायलाई पनि यातायात तथा पर्यटन व्यबसायलाई जस्तै अति प्रभावित क्षेत्रमा राखेको छ । शिक्षा मन्त्रालयमा दर्ता भएका शैक्षिक परामर्श प्रदान गर्ने संस्था १४ सय ७३ रहेको र शिक्षा मन्त्रालयमा निवेदन दिएर प्रमाणपत्र नपाएका ७ सय ७३ शैक्षिक परामर्श सस्थाहरु रहेको ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले वताए ।

 
 
  
 

You may also like