अस्वभाविक मूल्यबृद्धि र कृत्रीम अभाव सिर्जना गर्नेलाई कारवाही

by समतल अनलाइन

बुटवल । बजारमा उपभोक्ता हीत विपरितका अराजकता नियन्त्रणका लागि भन्दै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।पछिल्लो समयमा तरकारीजन्य र खाद्यान्नका सामानमा अस्वभाविक मूल्य बढाएको गुनासो आइरहेका बेलामा उपमहानगरका अनुगमन गरेको हो । बुटवल उपमहानगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ जारी गर्दै बजार अनुगमनका कामलाई व्यवस्थि गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिकाको अनुगमन तथा उपभोत्ता हित संरक्षण समितिले बुटवलका खाद्यान्न एवम् किरानाका पसलहरुको अनुगमन गर्दै उपभोक्ता हीत विपरितको कारोबार गरेको पाइएका केही पसललाई बन्द गराएको छ ।
अनुगमनमा किराना पसलहरुमा लेवल विनाका अखाद्य बस्तुहरु बिक्री भएको र अस्वभाविक रुपमा मूल्य बढाएको पाइएको अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् । उनले अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित विपरीत भएका काम रोक्ने बताइन् ।
बुटवलको कान्ति स्कुल परिसरमा रहेको गोपीकृष्ण किराना, बुटवल संगमपथमा रहेको लालाजी किराना तथा बुटवल–६ स्थित कृषि उपज केन्द्रमा रहेका आशिल आलु भण्डार र इधान सप्लायर्समा उपभोक्ता हीत विपरितका कारोबार गरेको पाइएको अनुमगन टोलीले बताएको छ ।
व्यापारीले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको आचार्यले बताइन् । किराना पसलहरुमा प्याजको खरिद मूल्य ४५ रुपैयाँ पाइएको र त्यसैको विक्री मूल्य प्रतिकिलो एक सय २० रुपैयाँ सम्म लिएको पाइएकोउ अनुमगन संयोजक आचार्यले बताइन् ।

ती सबै पसलहरुलाई बन्द गराइएको र थप कारबाहीका लागि मातहतका निकायमा सिफारिस गरिएको छ । लेवल नलगाएका विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गर्ने भएको छ । यसअघि अनुगमन समितिले काजु, किसमिस, बदाम, ओखरको घाझि, चना लगाएका सामानहरु लेवल नलगाइ विक्रि गरेको भेटाएपछि नष्ट गरेको थियो ।अनुगमनका क्रममा जफत गरिएका सामानहरुलाई प्राविधिकहरुको थप परीक्षण पछि नष्ट गरिने बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख टोपलाल शर्माले बताए ।

अनुगमनमा उपप्रमुख आचार्यसंगै उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यालय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, ईलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रशासन कार्यालयका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।

 
 
  
 

You may also like