गुएनाविरुद्ध सन्दीपको कसिलो बलिङ, १२ रन मात्रै दिएर एक विकेट

by समतल अनलाइन

काठमाडौं। क्यारेबियन प्रिमियर लिगमा जमैका तालवाजबाट खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले चौथो खेलमा पनि कसिलो बलिङ गरेका छन् ।

गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर एक विकेट लिएका हुन्। जसका कारण सन्दीपले प्रतियोगितामा ४ खेलमा ५ विकेट पुर्‍याएका छन् ।

ट्रिनिडाड एन्ड टोबागोमा रहेको क्विन्स पार्क ओभल मैदानमा भएको खेलमा टस जितेर जमैकाले बलिङ रोजेको थियो । गुएनाको स्कोर ५० रनमा तीन विकेटको अवस्थामा बलिङ गर्न आएका सन्दीपले १६ वटा डट बल फालेका थिए ।

उनले पहिलो ओभरमा मात्र तीन रन दिएका थिए । पहिलो बल डट फालेको सन्दीपले दोस्रो बलमा दुई रन दिएका थिए । यस्तै तेस्रो बलमा एक् रन दिएका सन्दीपले तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा रन दिएनन् ।

त्यसपछि टिमको १२ औं तथा व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले चार रन दिएर एक विकेट लिए । उनले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भए । जसमा उनले रुथरफोडलाई मात्र एक रनका असिफ अलीको हातबाट क्याचआउट गराए । त्यसपछि दोस्रो बल वाइड फालेका सन्दीपले बाँकी पाँच बलमा तीन रन मात्र दिए ।

सन्दीपले व्यक्तिगत तेस्रो तथा टिमको १४ औं ओभरमा मात्र एक रन दिए । उनले सुरुवाती दुई बल डट फालेका थिए भने तेस्रो बलमा एक रन दिएका थिए । त्यसपछि बाँकी तीन बल पनि डट फालेका थिए ।

लगत्तै १६ औं ओभरमा सन्दिपले चार रन खर्चिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा दुई तथा अन्तिम बलमा एक रन खर्चिएका थिए । बाँकी तीन बल उनले डट फालेका थिए । जारी सीपीएलमा सन्दीपले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।

यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए । यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजनमा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट पुर्याएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like