चिनियाँ विदेशमन्त्री आज आउँदै विकास साझेदारीमा छलफल हुने

by समतल अनलाइन

काठमाडौँ। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ ।

“हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ”, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्नुहुने सहसचिव कालीप्रसाद पोखरेलले भन्नुभयोे, “नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ । ” उहाँका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने उहाँले बताउनुभयो ।

मन्त्रालयको तयारी शनिबार अबेरसम्म पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चलेको उहाँका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिनुभयो । गोरखापत्रमा खबर छ ।

 
 
  
 

You may also like