कांग्रेसमा एक हजार उजुरी पेन्डिङमा

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका करिब १ हजार ३ सय उजुरीमध्ये हालसम्म करिब २ सय उजुरी मात्रै कारबाहीको प्रक्रियामा गएको छ । कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता मात्रै बढी कारबाहीमा परेका छन् ।

कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

देशभरबाट प्राप्त उजुरीका आधारमा समितिले २९८ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । समितिलाई प्राप्त करिब १ हजार ३ सय उजुरी मध्ये १ हजार उजुरीमा हालसम्म पनि कांग्रेसले कारबाहीको कुनै प्रक्रिया थालेको छैन ।

अनुसासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रुपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताका विरुद्ध सिधै आएका उजुरीका विषयमा समेत समितिले कुनै चासो देखाएको छैन ।

समितिका एक सदस्यले शीर्ष तहका नेता विरुद्धका उजुरी समितिको कार्यविधि अनुसार नभएकाले नहेरिएको बताए ।

‘शीर्ष तहका नेताविरुद्धका उजुरी समितिको कार्यविधिअनुसार आएको छैन, कार्यविधिअनुसार प्रमाणसहित आएका उजुरीलाई मात्र समितिले हेर्छ,’ समितिका ती सदस्यले भने । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

 
 
  
 

You may also like