भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस :उपत्यकामा जोखिम अत्यधिक बढ्यो

काठमाडौं,। लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो । लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ ।

पहिलो पटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ ।

लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ । मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन ।

जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like