कोरोनाबाट वीरगञ्जमा दुई दिनमा तीन जनाको मृत्यु : आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

पर्सा। कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आज ९शनिबार० बाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसाय समेत बन्द गरिएको छ । यस्तै वीरगञ्जमा अन्य जिल्लाबाट ९विशेष गरी भारतबाट० आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेष गरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लुकीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’

वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा शुरु भएलगत्तै स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो ।

दुई दिनको बीचमा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । ५७ जना संक्रमित उपचारमा छन् । शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ । दुई दिनअघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयलमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

पर्सामा पछिल्लो पटक ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहित ३२ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।मदन उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमित हुनेमा नौ महिने बालकदेखि ६० वर्षीया समेत छन् । वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने छ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।

मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताएका छन् ।

कोरोना संक्रमणको जोखिम कम भएको भन्दै सरकारले चार महिने लामो लकडाउन अन्त्य गरेपछि मानिसहरुको भिडभाड र आउजाउ बढेको छ । यसले संक्रमणको जोखिम बढाएको भन्दै आफैं सुरक्षित र सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् ।

 

 
 
  
 

You may also like