धादिङमा पहिरोले पुर्दा डेढ वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु

२४ घण्टाभित्र ठाउँ–ठाउँमा पहिरो, देशभर आठको मृत्यु
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ ।पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

ठाउँ–ठाउँमा पहिरो, आठ जनाको मृत्यु
लगातारको वर्षाका कारण गएको पहिरोमा पुरिएर सोमबार काठमाडौं, धादिङ, गोरखा, तनहुँ र दार्चुलामा गरी आठजनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दर्जनौं परिवार विस्थापित भएका छन् ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरेर एक युवकको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ आठजना साथी घुम्न गएकोमा गुरुङ शौच गर्न भनेर खोला छेउ जंगलमा पसेका थिए। त्यही बेला पहिरो खस्दा उनको मृत्यु भएको हो ।

यस्तै हिजो ९सोमबार० धादिङमा बाढी र पहिरोका कारण धादिङमा सात वटा घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । गजुरी गाउँपालिका २ स्थित मजुवाडाँडामा पहिरो जाँदा स्थानीय १७ वर्षीय निरुता परिवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

त्यस्तै पहिरोले बेनिघाट रोराङ गाउँपालिका ८ धुषाटारमा निशा चेपाङको घर भत्किँदा उनकी ५ वर्षीया छोरी संगीता चेपाङ गम्भीर घाइते भएकी छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा हरजितसिंह ठगुन्नाकी ४२ वर्षीया पत्नी मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरोमा स्थानीय मानसिंह ठगुन्नासहित चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेका थिए । पहिरोले गाउँकै समैजी आधारभूत विद्यालय भवन समेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताएका छन् ।

गोरखामा पहिरोले घर पुरिँदा गण्डकी गाउँपालिका ४ फुजेलकी ३६ वर्षीया लक्ष्मी गुरुङको ज्यान गएको छ । पहिरोले खोर भत्किँदा बाख्रालाई घाँस हाल्न गएकी उनी पुरिएको प्रहरीले जनाएको छ । खोरमा रहेका आठवटा बाख्रा समेत पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए ।

अजिरकोट गाउँपालिका ४ माउसुली पाखामा रामबहादुर मगरको घर पहिरोले पुरेको छ भने बारपाक सुलिकोट गाउँपालिका ४ का कामी गुरुङ र बिसन गुरुङको घर पहिरोले बगाएको छ ।
पहिरोले घर पुरिदा तनहुँको भानु नगरपालिका–९ सिमलगैह्राका ८० वर्षीया तिलमाया धौराली र उनकी नातिनी १५ वर्षीया शीताष्मा धौरालीको मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

 
 
  
 

You may also like