काठमाडौं। सप्तकोशी नदीमा बाढीको वहाव यस बर्षकै उच्च तहमा पुगेको छ । आज ९मंगलबार० बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । पानीको यो वहाव वर्षकै उच्च भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।
कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेण्ड पानीको वहाव मापन हुँदा खतराको तह पार गर्ने जनाइएको छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । ब्यारेजका दुई वटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको कन्ट्रोल रुमले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई बुधबार विहानसम्म उच्च सतर्कता साथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।
स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ । अहिले पनि पानी पर्ने क्रम जारी रहेकाले सप्तकोशीमा अझै बाढीको वहाव बढ्न सक्ने जनाइएको छ ।