काठमाडौंमा ‘भारी वर्षा’, बारामा ‘अति भारी वर्षा’, २३ जिल्ला सबैभन्दा बढी खतरामा

काठमाडौं । केहि दिनयताको लगातारको बर्षाले देशभर जनधनको क्षति गराईरहेको छ । अहिले पनि देशका सबैजसो जिल्लामा पानी परिरहेको छ । आज ९मंगलबार बिहान० पनि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् ।विशेष गरी प्रदेश–२, बागमती, गण्डकी र प्रदेश–५ मा मनसुन बढी सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन् ।

हिजो ९सोमबार० साँझ पौने ६ बजेसम्मको मापनअनुसार सबैभन्दा बढी वर्षा बारामा भएको छ । मौसमविद् शाक्यका अनुसार हिजो साँझसम्म २४ घण्टामा त्यहाँ १५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । १५० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिलाई भारी वर्षा भनिन्छ ।

काठमाडौंमा पनि भारी वर्षा भएको उनले बताएकी छिन् । उनका अनुसार बितेको १२ घण्टामा काठमाडौं उपत्यकामा ५५।३ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ ।

आज ९मंगलबार० दिउँसोे प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार कम्तीमा अझै तीन दिन भारी वर्षा हुने क्रम रोकिने छैन । महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । त्यसपछि फेरि अर्को बुलेटिन जारी गर्नेछ।

मौसमविद्का अनुसार अहिले नेपालको दक्षिणतर्फ नजिकै मनसुनको न्यून चापीय रेखा आएर बसेकाले व्यापक वर्षा भइरहेको हो ।

२३ जिल्लामा बाढी, पहिरो र डुबानको बढी खतरा
अविरल वर्षा शुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ ।

तराईमा परेको हालको पानीले सामान्य डुबान शुरु भए पनि ठूलो क्षति गरेको छैन । कोशी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार तिलाठी क्षेत्र र बलान क्षेत्रमा कटान सुरु भएको छ । उनका अनुसार पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ ।

कोशीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ । भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षबाट आफूहरूले निगरानी गरिरहेको जानकारी उनले दिए । सप्तरीमा पानीको निकास नहुँदा बर्षेनी शहर र गाउँ डुबान हुने गरेको छ । तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ । नेपालतिर खाल्डो छ ।

 
 
  
 

You may also like