आइतबारदेखि फेरि भारी बर्षा, समयमै सावधानी अपनाउन आग्रह

आजैदेखि मनसुन वृद्धि हुने, यी खोला–नदी बन्न सक्छन् ‘खतरा’
काठमाडौं । ठूलो धनजनको क्षति गराई एक–दुई दिनयता केहि कम भएको बर्षा फेरि दोहोरिने मौसमविदले जानकारी दिएका छन् ।

अहिले केहि मत्थर भएको मनसुन आउँदो आइतबार (साउन १५ गते) देखि सक्रिय हुँदै भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । भारी वर्षाका कारण पुनः धनजनको क्षति निम्तिन सक्नेतर्फ सचेत गराउँदै मौसमविदले बाढी, पहिरो र डुबानबाट सुरक्षित रहन समयमै आवश्यक पूर्व तयारी र सावधानी अपनाउन आग्रह गरेका छन् ।

आज (शुक्रबार) देखि पानी पर्ने क्रम बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सी आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक–दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् ।

विशेषगरी पर्सी बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको अर्का मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मर्स्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद् श्रेष्ठका अनुसार आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्नेछ । मनसुन सक्रिय हुँदै गएकाले हिजोको भन्दा आज दिउँसो, दिउँसोको भन्दा राती पानी पर्ने क्रम बढ्दै जाने उनको भनाई छ ।

विशेष गरी प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने उनले जानकारी दिइन् । मौसम सम्बन्धी केही जानकारी लिन महाशाखाको फोन नम्बर ०१४११३१९२ मा र बाढीबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिने छ ।

 
 
  
 

You may also like