विश्वका एक करोड १० लाख बढी मानिसमा कोरोना संक्रमण, दैनिक दुई लाखमाथि थपिंदै

काठमाडौं । विश्वभर एक करोड १० लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५७७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या झन्झन् बढिरहेको छ । गएको दुई दिन विश्वभर दुई लाख भन्दा धेरैका दरले संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या साढे ६ लाख पुगेको छ । शुक्रबार एकै दिन भारतमा साढे २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । हाल उच्च संक्रमण दर भएका अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।

आज (शनिबार) बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको वर्ल्डओमिटले जनाएको छ । शुक्रबार भारतमा एकै दिन २२ हजार सात सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ६६९ पुगेको छ । शुक्रबार मात्रै त्यहाँ चार सय ४४ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वभर दुई लाख सात हजार सात सय ६८ जनामा संक्रमण देखिएको छ । बिहीबार पनि विश्वभर दुई लाख भन्दा धेरैमा संक्रमण देखिएको थियो ।

गएको २४ घण्टामा पाँच हजार १३७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । गएको २४ घण्टामा अमेरिकामा साढे ५४ हजार भन्दा धेरै र ब्राजिलमा झण्डै ४२ हजारमा संक्रमण पुष्टि भएको छ । यस अबधिमा ब्राजिलमा संक्रमणको कारण एक हजार दुई सय ६४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी मेक्सिकोमा ६७९, अमेरिकामा ६१६, रुसमा १७६, पेरुमा १८१, चिलीमा १३१, बेलायतमा १३६, इरानमा १५६, दक्षिण अफ्रिकामा १०८, कोलाम्बियामा १३६, इराकमा १०२ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

 
 
  
 

You may also like