नेकपा विवाद : शून्य समयमा शून्य प्रगति

ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको अडान, दुवै पद नछाड्ने ओलीको ‘बटमलाइन’
काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन विभिन्नस्तरमा प्रयासहरू भइरहेका छन् ।

दोस्रो पुस्ताका नेताहरूले दबाब समूह बनाएका छन् भने स्वयं दुई अध्यक्ष पनि वार्तामा छन् । तर, ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको माग र कुनै पनि हालतमा कुनै पनि पद नछाड्ने ओलीको ‘बटमलाइन’ बीच नेकपा शंक्ति संघर्ष झन् जटिल भएको छ । यही गतिरोधबीच शनिबार स्थायी कमिटी बैठक बस्दै छ ।

ओली–प्रचण्डको शुक्रबारको संवादपछि नेकपाको शक्तिसंघर्ष थप जटिल बनेको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागे पार्टी विभाजन हुने चेतावनी दिएका छन् । पार्टीको विभाजन अब औपचारिकता मात्र रहेको भन्दै ओलीले यसको जिम्मेवार नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रहेको ठहर पनि सुनाएका छन् ।

विभाजन रोक्न भन्दै स्थगित भएको नेकपा स्थायी कमिटीको जारी बैठक शनिबार बस्ने तयारी छ । बैठकअघि दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भेट भएको थियो । भेटको विषयवस्तुबारे प्रचण्डले शुक्रबार साँझ नै सचिवालयका सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको निष्कर्ष सुनाउनुभयो र यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल जिम्मेवार रहेको आरोप पनि लगाउनु भयो,’ प्रचण्डले सचिवालयका नेताहरूलाई सुनाए ।

दुई अध्यक्षको सहमतिविपरीत प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको कदम चालेको भन्दै बिहीबारको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी विभाजनउन्मुख भएको बताएका थिए । तर, एकता बचाउन अन्तिम कोसिस गर्ने भन्दै उनले बैठक स्थगित गरेका थिए । शुक्रबार ओली र प्रचण्डबीच भेट हुँदा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि थिए । पार्टी एकताका लागि २ जेठ ०७५ मा भएको पाँचबुँदे सहमतिमा ओली र प्रचण्डबाहेक पौडेल र शर्मा हस्ताक्षरकर्ता हुन् ।

शुक्रबारको भेटमा प्रचण्डको भनाइ थियो, ‘तपाईंले पार्टी निर्णय मान्दिनँ भन्नुभयो । अनायास संसद् अधिवेशन अन्त्य गर्नुभयो, यहीवेला अध्यादेश ल्याउने कोशिस हुँदैछ । पुरानो पार्टी ब्युँताउन नयाँ दल पनि दर्ता गराइसक्नु भयो । यस अर्थमा तपाईंले पार्टी फुटाइसक्नुभएको छ । तैपनि एकता बचाउन वार्ता गर्न आएको छु ।’

ओलीको जवाफ थियो, ‘तपाईंले पार्टी विभाजन भयो भन्दै हिँड्नुभएको छ, त्यो कुरा सही हो, पार्टी विभाजन त भइसक्यो नि ! भिन्दै बैठक गर्नुहुन्छ, गुटका निर्णयलाई पार्टीको निर्णय भन्नुहुन्छ । अब तपाईंहरू बैठक बस्नुस्, मलाई निकाल्ने हो कि के गर्ने हो त्यो पनि गर्नुस् । त्यसपछि आ–आफ्नो बाटो लागौँला ।’

सहमतिको प्रयासस्वरूप शुक्रबार ओली र प्रचण्डबीच तीन घन्टा लामो छलफल भएको थियो । तर, भेट सहमतितर्फ भन्दा पनि आरोप–प्रत्यारोपतर्फ केन्द्रित भएको थियो । प्रचण्डले सचिवालयमा गराएको जानकारीअनुसार ओलीले भनेका थिए, ‘पार्टी एकता बचाउने अब एउटा मात्र उपाय छ । तपाईंले माधव नेपाललाई छाडेर आउनुस् । त्यसपछि एकता बच्छ, नत्र सम्भव छैन ।’

शुक्रबारको ओली–प्रचण्डबीचको छलफलमा सहभागी नेता जनार्दन शर्माले भने खुलस्त छलफल भएको बताए । उनले भने, ‘खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । फेरि अर्को बैठक बस्ने गरी उठेका छौँ ।’

छलफलमा पार्टी सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेको भन्दै प्रचण्डले मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । सचिवालयका एक सदस्यका अनुसार जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्दिनँ, अरू केही प्रस्ताव छन् भने छलफल गरौँ, त्यसका लागि तयार नै छु ।’ त्यसपछि छलफल कुनै ठोेस सहमतिविना टुंगिएको थियो । तर, शनिबार फेरि बसौँला भन्दै नेताहरू उठेका थिए ।

शनिबार बस्ने स्थायी कमिटीको बैठकभन्दा एक घन्टाअगाडि बालुवाटार आएर छलफल गर्ने भन्दै प्रचण्ड हिँडेका थिए । प्रचण्डले ‘पार्टी निर्णय स्वीकार गर्नुस्, छलफल पनि गर्दै जाऊँ’ भनेका थिए । ओलीको जवाफ थियो, ‘ठिकै छ बसौँला ।

ठन्डा दिमागले सोचेर आउनुहोला, छलफल गरौँला ।’ शनिबार ११ बजे नेकपाको स्थायी कमिटी बैठक छ । त्यसअगाडिको वार्तामा ठोस सहमति नभए बहुमतका आधारमा निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

छलफलमा प्रचण्डले एक व्यक्ति स् एक जिम्मेवारीको नीति कार्यान्वयन गर्दै पार्टी एकता सुदृढ गर्नका लागि प्रधानमन्त्रीले त्याग गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री यो विषयमा प्रवेश नै गर्न मानेका थिएनन् ।

छलफल सकारात्मक नभएपछि प्रचण्डले बालुवाटारबाट फर्किएलगत्तै खुमलटारस्थित निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित सचिवालयका नेताहरूलाई बोलाएर ‘ब्रिफिङ’ सुनाउँदै सुझाब लिएका थिए ।

‘म प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्ने पक्षमा छैन, यदि पार्टी एकता कायम गर्ने हो भने तपाईंले माधव नेपाल र ममध्ये एउटा विकल्प छान्नुस्, मेरो टिममा आउने कि माधव नेपालको टिममा जाने रोजाइ तपाईंको हो,’ खुमलटारमा नेताहरूलाई प्रचण्डले गरेको ब्रिफिङ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईंले एकताका लागि एउटा टिम रोज्नुस्, अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नुस्, बाँकी अरू विषयमा छलफल गरेर सहमति गर्न सकिन्छ भनेपछि छलफल सकारात्मक नभएको जानकारी गराउनु भयो ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी एकतामा देखिएको गम्भीर संकट समाधानका लागि सहमति जुटाउने उद्देश्यले दुई अध्यक्षबीच बालुवाटारमा छलफल भए पनि सकारात्मक निष्कर्षमा नपुगेको बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like