एक किलो सलह ल्याउनुहोस् , २० रुपियाँ लैजानुस् : प्रदेश सरकार !

बुटवल । सलह कीरा नेपालमा प्रवेश गरेसँगै प्रदेश सरकार ५ सरकारले यसको प्रकोप आउन नदिन किरालाई नै समात्ने प्रयासमा लागेको छ । रुपन्देहीलगायत प्रदेशका विभिन्न जिल्लामा सलह किरा प्रवेश गरेपछि सरकारले एक किलो कीरा समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको हो ।

सलह रुपन्देही प्रवेश गरेपछि आकस्मिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहको प्रदेश विपद् व्यावस्थापन समितिको बैठक बसेर तत्काललाई सलह किरा नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक किलो सलह जम्मा गरेवापत २० रुपैंयाको दरले दिइने निर्णय भएको बताइन् । बैठकमा कीरा नष्ट गर्नका लागि प्रोत्साहन गर्ने, यसको प्रभावित क्षेत्र हेरेर थप निर्णय गर्ने निर्णय भएको मन्त्री पौडेलले बताइन् । उनका अनुसार समातेको कीरा वडाकार्यालयमा लगेर प्रतिकिलो २० रुपैयाँ लिन सकिनेछ ।

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले पाकिस्तानलगायतका केही देशहरुले सलहलाई छोपेर माछा तथा कुखुराको दानाका रुपमा प्रयोग गर्ने गरेको बताउँदैं कीरा समात्न प्रोत्साहन गरिएको बताए । उनले सलह कीराको संख्या हेर्दा थोरै र प्रजननका लागि उपयुक्त मौसम नभएकाले तत्कालै ठूलो क्षति गर्न नसक्ने भएपनि सतर्कता अपनाउनुपर्ने बताए ।

 
 
  
 

You may also like