तीजका अवसरमा राष्ट्रपति र प्रधानमन्त्री द्वारा शुभकामना व्यक्त

by समतल अनलाइन

हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।

तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको बताएकी छन् ।

नेपाली मौलिक संस्कृति सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको उनले उल्लेख गरेकी छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,’ तीजका अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेका छन् ।’

उपराष्ट्रपति नन्दबहादुर पुनले तीजका अवसरमा नेपाली हिन्दु महिलालाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै तीज नेपाली समाजमा ऐतिहासिक महत्व बोकेको पर्व भएको जनाएका छन् ।

‘हरितालिका तीज महिला शशक्तिकरण र चेतनासँग पनि जोडिएको पर्व हो,’ सोमबार ट्वीट गर्दै उनले भनेका छन्, ‘यो पर्वले महिलाहरुको सवलिकरणमा थप उर्जा थपोस् र उनीहरुले कुनै पनि खालको अन्याय वा शोषणको सामाना गर्न नपरोस् भन्ने शुभ कामना व्यक्त गर्न चाहन्छु ।

 
 
  
 

You may also like