बुटवल उपमहानगरको प्राथमिकता स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा

बुटवल । बुटवल उपमहानगरले नागरिकको जीवन रक्षालाई पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर राखेको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ ।सोमबार सुरु नगरसभाको सातौं अधिवेशनमा नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राखिएको जनाए ।

‘जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट हामी अगाडि बढ्ने प्रयास गरेका छौं, नागरिकको जीवन रक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यहि नै हो’, बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।

दीगो विकास लक्ष्य, हामीले बुटवलले तयार गरेको एकीकृत शहरी विकास गुरुयोजना र पन्ध्रौं योजनाबाट समेत निर्देशित हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा ‘समृद्ध प्रदेश खुशी जनता’ भन्ने प्रदेशको आकांक्षाको एकीकृत विकाससँगै ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ मार्फत आधार तयार गरि ‘समृद्ध बुटवल खुशी बुटवलवासी’ बनाउने लक्ष्य प्राप्त गर्ने अभियानमा केन्द्रित रहेको नगरप्रमुख सुवेदीले बताए ।

नीति तथा कार्यक्रमको मुख्य अंश :

स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा
निराशाको कालो बादल भित्र उज्यालोको आशाका किरणहरु पनि देखिएका छन् । मानवजातिले हालसम्म गरेको विकासमा सिंहावलोकन गर्ने सन्देश दिएको छ । राज्यका प्राथमिकताहरुलाई बदल्न प्रेरणा दिएको छ । स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखि यसमा लगानी बृद्धि गर, प्रकृतिसँग पौठे जोरी नखोज, प्रकृति अनुकुल हुने गरी विकास प्रयास अगाडि बढाउँदै जान आग्रह गरेको छ । आहार विहार, जीवन शैलिलाई पूर्वीय दर्शन अनुकूल बनाउ, व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सरसफाईलाई ध्यान दिन उपमहानगरले आग्रह गरेको छ । महामारीले परम्परागत असल बानी व्यवहारलाई पुनस्मरण गराएको र स्व–नियममा रहदा यस्ता महामारीमा विजय प्राप्त गर्न सकिने कुरा क्रमश स्थापित हुँदै गएको बुटवलको ठहर छ ।

बृहत बुटवलको अवधारणा
बृहत बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाकासाथ छिमेकी पालिकाहरुसंग समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवललाई ५ नं. प्रदेशको राजधानी बनाउने यस क्षेत्रका आम जनताको आकांक्षा र यथार्थताको पुनः पुष्टि कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारको सन्दर्भमा यस क्षेत्रले खेलेको महत्वपूर्ण भुमिकाले सबैलाई स्पष्ट पारेको छ । राजधानीको हैसियत बोकेको बृहत बुटवलले स्थानीय नागरिकहरुको आकांक्षा संबोधन गरेर मात्र पुग्दैन, बरु यसक्षेत्रका समग्र बासिन्दाहरुको समस्या समाधानको नेतृत्व समेत गर्नु पर्ने थप जिम्मेवारी बोध गराएको बुटवलको ठहर छ । बुटवलले लिएका नीति तथा कार्यक्रमले बुटवललाई ५ नं. प्रदेशको स्थायी राजधानी घोषणा गर्न थप टेवा दिने विश्वास लिएको नीति कार्यक्रममा उल्लेख छ ।

यस्ता छन् प्राथमिकता विषय
कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने, चालु आ.ब. का अधुरा बार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गरिने भएको छ । सामाजिक, आर्थिक, र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यस्थापन ऐनलगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिदै असल शासन प्रबद्र्धन गरी स्थानीय सेवा प्रवाह प्रभावकारी बनाइने भएको छ ।

आधुनिक बधशालाको निर्माण सुरु, कृषिलाई प्राथमिकता
बहुप्रतिक्षित पशु बधशाला निर्माणकार्य सुरु भएको छ । करिब २३ करोड बराबरको लागतमा बन्ने यो बधशाला मुलुककै अत्याधुनिक हुनेछ । यस्का लागि बुटवलले प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा डीपीआर तयार पारेर निर्माणकार्यका लागि सम्झौता गरेको छ ।

बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा सहरी कृषिलाई लिदै कृषि प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको छ । भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व बृद्धिका लागि विशेष अवधारणा बनाएको छ । सहकारीसँगको सहकार्यमा कृषि प्रवद्र्धनका कार्यव्रmमहरु सञ्चालन गरिने भएको छ । एक वडा एक उत्पादनको नीति अनुरुप उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गर्नसमेत बुटवलले सहयोग गर्नेभएको छ । शहरी क्षेत्रमा विषादी रहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसी खेती प्रवद्र्धन तथा पुष्प खेती कार्यक्रम संचालन गरिने भएको छ ।

जनस्वास्थ्यका नौला कार्यक्रम
“नगर प्रमुख जेष्ठ नागरिक घर दैलो स्वास्थ्य कार्यक्रम’’ लाई निरन्तरता दिईने भएको छ । यस कार्यक्रममा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समेत समावेस गरिनेछ । पोषण शिक्षा कार्यक्रमलाई कोभीड १९ जस्ता महामारी रोकथाममा समायोजन गरिने भएको छ । मातृशिशु स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी र नतिजामुखी बनाउनको लागि “उप –प्रमुख सुरक्षित मातृत्व’’ प्रबद्र्धन कार्यक्रमलाई थप प्रभाबकारी रुपमा संचालन गरिने भएको छ । बिद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकताका साथ प्रभाबकारी रुपमा संचालन गर्दै लगिनेछ ।

जोखिममा खटिनेको बीमा, आयुर्वेद र योगाको विस्तार
बुटवलमा रहेका निरन्तर खटिरहेका महिला स्वास्थ्य स्वयं सेविका र अग्रपंङ्तीमा रहेर समाचार संकलन गर्ने बुटवलका पत्रकारहरुलाई रु एक लाख बराबरको कोभिड १९ जोखिम बिमा गरिने भएको छ । कोभिड १९ नियन्त्रण हेतु आयुर्वेदिक औषधि वितरण, योगाभ्यास तथा जीवन शैली परिवर्तन गर्ने कार्यक्रम नियमित रुपमा समुदायस्तरमा संचालन गरिने भएको छ । प्रकृति मैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धनगरी बुटवलवासीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न विभिन्न निरोधात्मक कार्यक्रम संचालन गरिने भएको छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्वनलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाइने, ट्रमा सेन्टर निर्माणको पहल थालिने
सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालका रुपमा रुपान्तरण गरी संचालन गर्न आवश्यक तयारी गरिने भएको छ । केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा ट्रमा सेन्टर स्थापनाको लागि आवश्यक पहल गरिनेछ । बुटवलले स्वास्थ्य संस्थाहरुको ल्याबबाट ४० वर्ष माथिका नागरिकहरु र अपाङ्गता भएका तथा एकल महिलाहरुको रक्तचाप, अल्बुमिन र मधुमेह निशुल्क रुपमा जांच गर्ने व्यवस्था यसअघि नै मिलाएको छ । यसैगरी पन्ध्र शैया सम्मका अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको पूर्वाधार, सेवाप्रवाह तथा गुणस्तरको मापदण्ड तयार गरि दर्ता तथा नियमन गर्ने आवश्यक कानूनी प्रबन्ध मिलाइने भएको छ । नगरका नागरिकहरु बिरामी हुँदा आवश्यक पर्ने रगतमा अनुदान उपलब्ध गराइने भएको छ ।
.
शिक्षामा बैकल्पिक प्रविधि र पद्दति
कोरोना भाइरसको संक्रमणको सन्त्रासले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गरी शिक्षामा बैकल्पिक प्रविधि र पद्दतिको प्रयोग बढाइने भएको छ । सबै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउन “सिङ्गो बुटवल, एक विद्यालय” को अवधारणा अनुरूप शिक्षाको नयाँ पद्धति बिकास गरिने भएको छ । अनाथ एवं विपन्न परिवारका बालबालिकाहरूलाई अन्य बालबालिका सरह शिक्षाको पहुंचमा ल्याउन विशेष व्यवस्था गरिने छ । बुटवललाई प्राणी जगतको अध्ययन केन्द्रका रुपमा रामापिथेकस जियोलोजिकल पार्क निर्माणका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न नगरसंगको भगिनि सम्वन्ध कायम गर्दै ज्ञान, सीप, पूँजी र प्रविधिलाई सामाजिक, आर्थिक, मानव संसाधन तथा भौतिक विकासमा उपयोग गर्न प्रोत्साहित गर्नेतर्फ जोड दिईनेछ । नयाँ खोज अनुसन्धान, आविष्कार गर्नेलाई प्रोत्साहित गरिने भएको छ ।

समतामूलक र मानवताको सहर बुटवल
बुटवललाई समतामूलक र मानवताको सहर बुटवल बनाउने अभियानलाई अझ प्रभावकारी बनाइने भएको छ । महिला, आदिवासी जनजाति, थारु मुस्लिम, दलित, यौनिक अल्पसंख्यक, अपागंता भएका व्यक्ति,अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरुको क्षमता विकास, शसक्तिकरण र उत्थानमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गरी मुलप्रवाहमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ । सबै किसिमका सामाजिक विभेद (लैगिंक, जातिय, क्षेत्रीय, धार्मिक, भाषिक सास्कृतिक जस्ता), र शोषणहरुलाई निषेध एवं आर्थिक विभेदलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रमको प्राथमिकतामा छ । यस्तै ज्येष्ठ नागरिक मिलन केन्द्रको विस्तार, नगरबाट प्रदान गरिने सेवाहरुमा असहाय, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती सुत्केरी र अशक्तलाई सेवामा अग्राधिकार दिइने भएको छ ।

सहरी पूर्वाधार विकास
बुटवल उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजनाले लक्ष्य गरे अनुसारका कार्यक्रमहरु क्रमशः कार्यान्वयनमा ल्याइने भएको छ । पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने र वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भइ आएका योजनाहरुको प्रोजेक्ट बैंक बनाई संघ तथा प्रदेश सरकार एबम् अन्य संघसस्था संगको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने भएको छ । अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिने नीति कार्यक्रममा उल्लेख छ ।

पार्किङलाई प्राथमिकता, स्तरीय सडक निर्माण
प्रदेशको अस्थायी मुकाम, दुई मुख्य राजमार्गको संगम स्थल र मुलुकको प्रमुख व्यापारिक नाका भएकाले पनि बुटवलमा जनघनत्व र ट्राफिक जाम अन्यत्रभन्दा धेरै छ । यसैले बुटवलमा अब निर्माण हुने कुनै पनि भवनको पार्किङलाइ अनिवार्य गरिएको छ । मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा अन्डरग्राउण्ड पार्किङसहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइने भएको छ । “हाम्रो सडक–हाम्रो सहभागिता, स्तरीय सडक–हाम्रो प्रतिबद्धता” अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइने र स्तरीय सडक निर्माणमा जोड दिइने भएको छ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख छ । “हाम्रो बुटवल, सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्ध सहितको तिनाउ करीडोर निर्माण गर्न संघीय सरकारसँग समन्वय एवम सहजिकरण गरिने भएको छ । यस्तै मोतिपूर र सेमलार क्षेत्रमा स्याटेलाईट सहरको विकासका निम्ती आवश्यक अध्ययन कार्य अघि बढाईनेछ ।

पर्यटन बोर्ड गठन
बुटवलका पर्यटकीय क्षेत्रहरुलाई एउटै सर्किटमा राखेर प्रवद्र्धन गरिने भएको छ । संघ, प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, हिलपार्कमा विशाल बुद्ध मूर्ति स्थापना र जितगढी युद्धसंग्रहालय निर्माण तथा पुरानो बटौलीको मौलिक पहिचान स्थापित गर्न गुरुयोजना कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा क्रमश विकास गरिने भएको छ । पर्यटन स्थलहरुको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसार र पर्यटन प्रवद्र्धन बोर्ड गठन गरी क्रियाशिल बनाइनेछ । बुटवलको पर्यटन परिचय पुस्तक प्रकाशन गरिनेछ । बुटवलको हिलपार्क क्षेत्रमा एक बहुसाँस्कृतिक केन्द्र तथा नाट्यघर संचालनका लागि अध्ययन गरिने भएको छ ।

कृषिलाई स्वरोजगारको आकर्षक क्षेत्र बनाइने
कृषी क्षेत्रलाइ स्वरोजगारीको आकर्षक क्षेत्र बनाइने भएको छ । कृषि क्षेत्रलाई बुटवलको जिवनयापनको महत्वपुर्ण आधारका रुपमा ग्रहण गर्दै नविनतम सिप तथा प्रविधिको प्रयोग मार्फत आधुनिकिकरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादकत्व तथा उत्पादनलाई वृद्धि गर्ने नीति लिइने भएको छ । कोभिड १९ संक्रमणको कारण रोजगारी गुमाएका, विदेशबाट फर्किइ कृषिकर्ममा लाग्न चाहेका युवायुवती तथा नागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने नीति कार्यक्रममा उल्लेख छ । जमिनको चक्लाबन्दी मार्फत चक्लाबन्दी खेती प्रणाली प्रर्वद्धन गर्न, करार खेतीलाई प्रोत्साहन गर्न र निजी तथा सार्वजनिक रुपमा रहेका खेती योग्य बाँझो जमिनको समुचित सदुपयोग गर्नका लागि भूमि बैक स्थापना गरी कार्यान्वयनमा ल्याउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । संरक्षित कृषि सुनिश्चित वचत” भन्ने अवधारणा साकार पार्न कोशिस गरिने भएको छ ।

श्रम बैंक स्थापना
बुटवलले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम मुलुककै नमुना मानिन्छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै प्रभावकारी बनाइने भएको छ । विभिन्न संघ संस्था तथा विकास साझेदारहरु समेतको सहकार्यमा वेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारमूलक सीप प्रदान गर्न मेयर युवाइलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रम लाई निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमद्धारा संकलित वेरोजगारको विवरण र बैदेशिक रोजगारी गुमाएर स्वदेश फर्केका र अन्य बेरोजगार को विवरण सहित श्रम बैंक स्थापना गरिने भएको छ । यसका लागि श्रमिकहरुको ट्रेड युनियनहरु संग आवश्यक सहकार्य गरिनेछ । कार्यान्वयनका लागि आवश्यक कार्यविधी तर्जुमा गरिने, नगरभित्रको रोजगारीको स्थिति सम्बन्धी तथ्याक अध्यावधिक रुपमा प्रकाशित गरिने भएको छ । गरिव घरपरिवारको पहिचान गर्न मापदण्डको आधारमा नगरभित्रका सम्पूर्ण गरिव परिवारको तथ्यांक तयार गरिने भएको छ ।

बुटवललाई वेरोजगारी सून्य नगर बनाउनका लागि रोजगारी सृजना गर्ने संस्थाहरुको लगत संकलन गर्ने र ती संस्थाहरुलाई चाहिने उचित प्रोत्साहनको आवधिक मापन गर्ने र काम चाहिएका र कामदार चाहिएकावीच संयोजन गरिनेछ । यसका लागि रोजगारदाता र ट्रेड युनियन समेत संलग्न रहेको संयन्त्र निर्माण गरी सहकार्य गरिने भएको छ ।

हरित बुटवल
बुटवलको हरियाली क्षेत्र ५३ प्रतिशत भन्दा माथि छ । यो मुलुकका कुनै पनि उपमहानगरको भन्दा धेरै हो । यसलाई अझ विस्तार गरेर हरित नगर बुटवलको नारालाई सार्थक बनाइने भएको छ । यसका लागि सडक किनाराहरु, विद्यालय परिसर, सिंचाई नहरका किनार लगायतका सम्भाव्य स्थानहरुमा फलफुलका विरुवा वृक्षारोपण गरिने, उक्त कार्यका लागि टोल विकास संस्थाहरुलाई सक्रिय बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“एक घर–दुई विरुवा तथा “एक वडा–एक हरियाली पार्क” कार्यक्रमलाई निरन्तरता दिइनेछ । नगरमा नर्सरी स्थापना तथा संचालन गर्न प्रोत्साहित गरिनेछ । “एक बन, बहु पोखरी” निर्माणको अभियानलाई निरन्तरता दिइने भएको छ ।

आमसञ्चार नीति बनाइने, डाटा बैंकको स्थापना गरिने
संचारकर्मीको क्षमता विकासका लागि संचार क्षेत्रसँगको सहकार्यलाई जोड दिइने भएको छ । एफ.एम, अनलाइन, पत्रपत्रिका दर्ता तथा नियमनका लागि आवश्यक कानूनी प्रबन्ध मिलाइने भएको छ । यस्तै नगरको आमसंचार नीति बनाई कार्यान्वयनमा ल्याइनेछ । नगर क्षेत्रभित्रका विकास आयोजनाहरु, नविनतम सोंच एवम् अनुकरणीय कामहरुको विवरणहरु फिचर लेखन कार्यका लागि लेखनवृत्ति कार्यक्रम संचालन गरिनेछ । विश्वसनीय नगर सूचना प्रणालीको लागि डाटा बैंकको स्थापना गरिने भएको छ । राष्ट्रिय भावना जागृत गर्न २०७७ श्रावण १ गतेदेखि प्रमुख उपप्रमुख सहित सबै कर्मचारीले राष्ट्रिय गान गाएर कार्यालयको कार्यको सुभारम्भ गरिने भएको छ ।

 

 
 
  
 

You may also like